काठमाडौं । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था १५औं वर्षमा प्रवेश गरेको छ । २०६८ बैशाख २९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई भाद्र ४ गतेबाट विधिवत रुपमा कारोबार शुभारम्भ गरेको थियो । संस्थाले कारोबार शुभारम्भ गरेको दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।
१५औं स्थापना दिवसको अवसरमा प्रतिवद्धता जारी गर्दै अध्यक्ष नविन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले सदस्य हितलाई केन्द्रबिन्दुमा राखेर संस्थाको समग्र सेवा व्यवस्थापनलाई अझै आधुनिक र गुणस्तरीय बनाउने प्रयासमा सधैं दत्तचित्त रहेको बताएका छन् । आगामी दिनहरुमा पनि सदस्यहरुको निरन्तर साथ र सहयोगको अपेक्षासहित संस्थाको हितमा सधैं निष्पक्षपूर्वक कार्य गर्ने पूर्ण प्रतिवद्धता संस्थाले व्यक्त गरेको छ ।
सदस्यहरुलाई नियमित बचत गर्ने वानी बसाली, सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र उनीहरुमा आत्मनिर्भर अनि स्वरोजगार र व्यवसायी बनाउने भन्ने उद्देश्यले संस्था स्थापना भएको थियो ।सदस्यलाई सर्वसुलभ दरमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य संस्थाको रहेको प्रमुख कार्यकारी अधिकृत कार्कीको भनाइ छ ।
४ हजार २ सय ४० जना सदस्य रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब ४१ करोड १३ लाख ९४ हजार रहेको जनाइएको छ । साउन मसान्तसम्ममा ९ करोड ६ लाख ४२ हजार सेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा ११ करोड ७७ लाख ७१ हजार रुपैयाँ र ५ लाख अन्य कोषमा रहेको उल्लेख छ ।
संस्थाको संस्थागत पुँजी १२ करोड ५७ लाख ५९ हजार पुगेको छ । त्यसैगरी कुल बचत रकम १ अर्ब ५ करोड ८० लाख ५३ हजार रहेको छ भने कर्जा लगानी १ अर्ब ४ करोड ४ लाख ८१ हजार रहेको छ जनाइएको छ । संस्थाका काठमाडौंको गोठाटार, ललितपुरको कुमारीपाटी र लुभुमा सेवाकेन्द्र रहेका छन् ।
Leave a comment