काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लव, काभ्रेपलाञ्चोकले “राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा पूँजी कोष व्यवस्थापन” विषयक तालिम कार्यक्रम गरी पाँचौं स्थापना दिवस मनाएको छ । क्लवका अध्यक्ष गोपाल दाहालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सहककारी नियमन प्राधिरकणले जारी गरेको निर्देशन तथा मापदण्डमा सहकारी संस्थाहरुले पुँजी कोषको आधारमा बचत तथा ऋणको कारोबार गर्नु पर्ने व्यवस्था गरिएको छ । यस अघि सरकारले ऐन संशोधन गर्दै कार्यक्षेत्रको आधारमा बचत लिन पाउने व्यवस्था गरेपछि अभियानको विरोधमा पुँजी कोषको आधारमा बचत लिन तथा ऋण लगानी गर्न पाउने व्यवस्था भएको हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गुरागाइले पूँजी कोष व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएका थिए । सोही अवसरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा मापदण्डका विषयमा राष्ट्रिय सहकारी बैंकका कार्यक्रम अधिकृत तथा प्रशिक्षक नवकुमार अधिकारीले प्रशिक्षण दिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार विवेक राज ठकुरी र निवर्तमान अध्यक्ष तथा सल्लाहकार मदन बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेको निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठ, बचत संघ काभ्रेको प्रमुख कार्यकारी अधिकृत गुरु ढकालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य ठाकुरनाथ अधिकारीले राखेका थिए भने सचिव सुवास वैधले कार्यक्रम सञ्चालन गरेका थिए । काभ्रे जिल्ला भरका सहकारीका प्रमुख कार्यकारी अधिकृतहरुको सक्रिय सहभागिता रहेको थियो कार्यक्रमको प्राविधिक सहयोग राष्ट्रिय सहकारी बैक बनेपा शाखाले गरेको थियो ।
Leave a comment