हाइलाइट

किसान साकोसले सदस्यलाई ‘बिडिएस’ सेवा दिने

किसान साकोसले सदस्यलाई ‘बिडिएस’ सेवा दिने :: Sahakari Akhabar

काठमाडौं । नवलपरासीको गैंडाकोट नगरपालिका ८ विजयनगरमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूलाई मोबाइल एपबाट व्यवसाय प्रवद्र्धन सेवा, बिजनेस् डेभलपमेण्ट सर्भिस (बिडिएस) उपलब्ध गराउने भएको छ ।

सदस्यहरुको सहजता र समयको माग सम्बोधन गर्दै प्रविधिको सहायताले किसान साकोसले मोबाइल एपमार्फत आफ्ना सदस्यहरूको उत्पादन, सीप र सपना बजारमा र्पुयाउने सहकारीमा पहिलो सेवा रहेको संस्थाको दाबी छ ।

संस्थाले शुरु गरेको डिजिटल व्यवसाय विकास सेवा प्रविधिको प्रयोगमार्फत सहकारीका सदस्यहरूको सीप अभिवृद्धि, उत्पादनको बजार व्यवस्थापन र उद्यमशीलताको प्रवद्र्धन गर्ने प्रयास रहेको बताइएको छ ।नेपालमा केही संस्थाहरूले बीडीएस अवधारणा कार्यान्वयनमा ल्याएपनि मोबाइल एपमार्फत डिजिटल स्वरूपमा प्रस्तुत गर्ने पहिलो प्रयास भएको संस्थाको दाबी छ ।

यो सेवामार्फत सदस्यहरूले घरेलु उत्पादनहरु अचार, कपडा, दही, घ्यू वा हस्तकलाको सामान आदि मोबाइल एपमा दर्ता गर्न सक्नेछन्। ‘लोकल प्रडक्ट’ नामको खण्डमा गएर, सदस्यले आफ्नो उत्पादनको नाम, तस्विर, मूल्य र सम्पर्क विवरण राख्न सक्छन् र अन्य सदस्य वा ग्राहकले यिनै उत्पादनहरू हेरेर, उत्पादकसँग सिधा सम्पर्क गर्न सक्छन्। सदस्यहरुको उत्पादन किसान साकोसको बेवसाइटमा पनि हेर्न सकिने जनाइएको छ ।

किसान साकोसले यो सेवा केवल वस्तु बेच्ने माध्यम मात्र नभइ आत्मनिर्भरता र आर्थिक सबलीकरणको प्लेटफर्म भएको जनाएको छ । विशेष गरी आफ्ना उत्पादन घरभित्र बनाउने तर बैजारमा लैजान नसकिरहेका संस्थाका २५ हजार महिला सदस्यहरू र उनीहरुका परिवारका लागि लक्षित गरि संस्थाले ल्याएको जनाएको छ ।

किसान साकोसको एपमार्फत मोबाइल बैंकिङ, बैंकबाट रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्सफर, वालेट लोड, मिसकल बैंकीङ्ग, ईन्टरनेट, टिभि, टेलिफोन, विजुली, पानी, युटिलिटि बिल भुक्तानी, क्युआरमार्फत कारोबार, बीमा जानकारी, रेमिट्यान्स सुविधा, बस बुकिङ्ग, फलाईट बुकिङ्ग तथा अन्य डिजिटल सेवा पनि उपलब्ध हुँदै आएको छ । एपले कारोबार भएपछि विवरण र रकम पढेर आवाजमा जानकारी दिने गरेको छ जसले गर्दा कारोबार गर्दा सहजता थपिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष भोजराज पौडेलले यो डिजिटल सेवालाई केवल प्रविधिको प्रयोग नभई, एक नवयुगको सुरुवात भएको बताए । हामीहरुको विश्वास छ की – सहकारी केवल पैसाको कारोबार गर्ने संस्था होइन, समुदायको सपना बोकेर हिँड्ने साझा यात्रा हो,  पौडेलले भने, डिजिटल बिडिएस पनि त्यही यात्राको अर्को चरण हो, जहाँ सदस्यले आफ्ना सीप र उत्पादनलाई संसार सामु पुर्याउने मौका पाउनेछन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले भविष्यमा यो सेवा अझ विस्तार हुँदै जाने बताए । स्थानिय तह, संघसंस्था, प्रदेश सरकार र साझेदारहरूसँग सहकार्य गर्दै, किसान साकोसले यो प्लेटफर्मबाट आफ्ना सदस्यहरुको शिप, कला, उत्पादनलाई व्यावसायिकीकरण गरि समृद्ध सदस्य, दिगो सहकारीको अवधारणा साकार गर्ने छ, उनले भने, ‘सदस्यहरुलाई उद्यमशिलता तर्फ लैजाने र स्थानिय उत्पादन र खपतलाई दिगो बनाई राष्ट्रियस्तरमा बजारको पहुँच लैजाने एवं किसान साकोसका हरेक सेवाकेन्द्रहरु व्यवसाय प्रवद्र्धन गर्ने युनिटका रुपमा लैजाने योजना छ ।’

किसान साकोसको बिडिएस सेवा केवल उत्पादनको व्यापार मात्र होइन, गाउँघरका सदस्यहरूको आत्मबल बढाउने माध्यम पनि भएको भन्दै उत्पादन बनाउने हातमा प्रविधि दिने, विश्वास दिने र सम्मान दिने सपना साकोसले लिएको उनले बताए ।

नयाँ पुस्ता अब सहकारीसँग जोडिन खोज्छ, तर केवल बचत र ऋणका लागि होइन । उनीहरूलाई चाहिन्छ – स्मार्ट सेवा, डिजिटल पहुँच र उद्यमशील अवसर । किसान साकोसले यो चाहानालाई बुझेर, पहिलो पटक डिजिटल सहकारी सेवा ल्याएर उदाहरण पेश गरेको किसान साकोसका समिति सदस्य एवं सूचना प्रविधि उपसमिति संयोजक नरबहादुर थापाले बताए ।



Leave a comment