काठमाडौं । राष्ट्रिय सहकारी बैंकको वार्षिक समीक्षा तथा आगामी योजना सम्बन्धी गोष्ठी सोमबार सम्पन्न भएको छ । धुलिखेलमा तीन दिनसम्म सञ्चालन भएको गोष्ठीले गत आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा गर्नुका साथै चालू आर्थिक वर्षको योजना तथा कार्यक्रमलाई थप प्रभावकारी र उत्कृष्ट बनाउने प्रतिबद्धता गरेको छ।
गोष्ठीमा बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले बैंकले दिने सेवा सुविधामा कमी आउन नदिन तथा थप प्रभावकारी बनाउनका लागि वित्तीय तथा अन्य सेवाका बारेमा सचेत रहन व्यवस्थापन, प्रदेश प्रमुख र शाखा प्रमुखहरूलाई निर्देशन दिए ।
बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघ संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय लगायतका सेवाहरूलाई थप प्रभावकारी बनाउने उल्लेख गर्दै अध्यक्ष गिरीले बैंकलाई पुर्ण ब्यावसायिक बनाउन सुधारका धेरै प्रयास भईरहेको बताए ।
समीक्षा गोष्ठीबाट चालू आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने लगायतका विषयमा योजना निर्माण भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी गराए ।
उनले आर्थिक वर्ष २०८१ / ०८२ मा बैंकको वित्तीय सुचाकहरुमा उल्लेख्य मात्रमा सुधार भएको बताए । बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य सहकारी संघ संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय तथा गैर वित्तीय सेवाहरूलाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो ।
सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउनका लागि जिल्ला तथा प्रदेश स्तरीय संघहरुको संस्थागत विकासमा समन्वय गर्ने जनाइएको छ । बैंकले प्रदान गरेको कर्जा सदुपयोगिता अनुगमन तथा निरीक्षणलाई व्यवस्थित गर्ने, व्यवसाय योजना तयार गरी परामर्श दिने, संघ, प्रदेश तथा स्थानीय सरकारहरुसँग सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गर्ने योजना बैंकले बनाएको छ ।
बैंकले लिएको लक्ष्य पुरा गर्नका लागि सञ्चालक समितिले नीतिगत निर्णय गर्ने, व्यवस्थापनले योजना निर्माण गर्ने र प्रदेश कार्यालय तथा शाखाहरूमार्फत कार्यान्वयन गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।
उनले सहकारी क्षेत्रमा बैंकले सञ्चालन गरेका प्रविधि, सहकारीलाई डिजिटाइजेसनमा लान बैंकले उपलब्ध गराएको सेवाहरूलाई सबै सहकारीहरूमा पुर्याउन सकेमा सहकारी क्षेत्रका साख बढाउन सकिने बताए । बैंकले सदस्य संस्थाहरुले बैंकमा गरेको लगानी सुरक्षित गर्न तथा दीर्घकालीन फाइदाका लागि विभिन्न योजना बनाएकोले त्यसका बारेमा आम सहकारीकर्मीहरुलाई सचेत बनाउनु पर्नेमा उनको भनाइ थियो ।
बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल १६ हजार ४२६ शेयर सदस्य, करिब ३ अर्ब ८९ करोड शेयर रकम, ४७ अर्ब भन्दा बढी निक्षेप, १९ अर्ब भन्दा बढी कर्जा लगानी रहेको छ ।
Leave a comment