काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) छैटौं वर्षमा प्रवेश गरेको छ । संघ बागमती प्रदेशमा रहेका बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई ब्यवस्थित र मर्यादित बनाई सुशासनमा संचालन गर्न २०७६ सालमा स्थापना भएको हो ।
संघले स्थापना कालदेखि नै बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको विकास, प्रवद्र्धन, क्षमता विकास र अन्तरलगानी सेवा सहितका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सहकारी अभियानका साझा सवालका विषयमा संघिय सरकार, बागमती प्रदेश सरकार र स्थानीय सरकारहरुसंग बहस पैरवी र अभियान मैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको संघका अध्यक्ष उद्धव सापकोटाको भनाइ छ ।
संघ साउन १३ गते पाँचौ वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गर्दैगर्दा प्रदेशकै अग्रणी संघ भएको अध्यक्ष सापकोटा बताउँछन् । संघको पछिल्लो विवरण अनुसार सेयर पूँजी ७ करोड ५५ लाख ४० हजार ९०० रुपैंयाँ छ भने १ करोड ७२ लाख ३९ हजार ९७६ रुपैंयाँ कोषमा रहेको छ ।
त्यसैगरी २ अर्ब ५५ करोड ४० लाख ३२ हजार ५०७ रुपैंयाँ बचत तथा २२ करोड २५ लाख ११ हजार १४० रुपौंयाँ लगानीमा रहेको जनाइएको छ । संघमा बागमती प्रदेशका १३ वटा जिल्लाका ५४० संघ संस्था सदस्य रहेका छन् । त्यसैगरी संघले जेठ मसान्तसम्म १ करोड ४८ लाख ४२ हजार ३७८ रुपैंयाँ मुनाफा गरेको जनाएको छ ।
संघले अन्तर सहकारी कारोबारका साथै तालिम शिक्षाका कार्यक्रम संचालन गर्दै आएको छ भने सदस्य संघ संस्थाहरुलाई स्तरिकरण कार्यक्रम ‘कोशिस’ संचालन गरेको छ । संघले १३ गते काठमाडौंमा स्थापना दिवस कार्यक्रम गरी संघमा आवद्ध सदस्य संघसंस्था, सहकारी अभियान्ता, सहकारी सञ्चारकर्मी लगायतलाई विभिन्न विद्यामा सम्मान तथा पुरस्कार घोषणा गरी पाँचौ वार्षिकोत्सव एवं छैठौं स्थापना दिवस मनाउने तयारी गरेको छ।
Leave a comment