काठमाडौं । मुलुकको पहिलो सहकारीका संस्थापक बखानसिंह गुरुङको जीवनीका बारेमा पुस्तक लेखिएको छ । पत्रकार वसन्त पराजुलीले लेखेको पुस्तक ‘बखान’ छिट्टै बजारमा ल्याइन लागेको हो । शिखा बुक्स प्रकाशक रहेको पराजुलीको पुस्तक ‘बखान’ को कभर सार्वजनिक भएको छ ।
राणा शासन र पञ्चायतविरुद्ध लडेका गुरुङले आफ्ना दुई जवान छोरा गुमाएका थिए । तनहुँको पुलिमराङबाट चितवन झरेका गुरुङले २०१३ साल चैत २० गते मुलुककै पहिलो सहकारी संस्थाको रुपमा बखान ऋण सहकारी समिति स्थापना गरेका हुन् ।
बखानसिंह गुरुङको अवधारणा र अगुवाइमा स्थापना भए पनि उक्त सहकारीको अध्यक्ष भने सबैको आग्रहमा सुवेदार खड्गसिंह गुरुङ रहेका थिए । सुवेदार भीमसेन (भिसा) गुरुङ र जमदार मेघराज गुरुङ सचिव रहेको सहकारीका कोषाध्यक्ष मोहनसिंह गुरुङ थिए ।
मुखिया तेजवीर गुरुङ र कृष्णबहादुर गुरुङ सदस्य रहेको सहकारी दर्ता गर्ने सहकारी अधिकारी भने सर्वदेव बर्मा रहेको इतिहास छ । ६० जना सदस्य संख्या रहेको उक्त संस्थाको सुरुवाती सेयर पुँजी ६०० रुपैयाँ रहेको थियो ।
बखानसिंह गुरुङको पहलमा स्थापना गरिएको बखान ऋण सहकारी समिति हाल बखान बहुउद्देश्यीय सहकारीका रुपमा चितवनको शारदानगरमा सञ्चालनमा छ । यसैगरी, सहकारीको इतिहास तथा सहकारी पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले बखानसिंह गुरुङको नाममा बखान संग्रहालय पनि निर्माणको काम धेरै वर्ष पहिले शुरु भएपनि बजेट अभावका कारण हालसम्म पुरा हुन नसकेको बखान सहकारीले जनाएको छ ।
Leave a comment