काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा २२ करोड बढी रकम पुगेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार जगेडा कोषमा २२ करोड ३३ लाख ७२ हजार ६७५ रुपैंयाँ पुगेको हो । त्यसैगरी संस्थाले प्रकाशन गरेको असार मसान्तको विवरण अनुसार संस्थाको अन्य कोषमा १० करोड ८७ लाख ६९ हजार ४५३ रुपैंयाँ रहेको छ ।
त्यसैगरी संस्थामा १० हजार २ सय २५ जना सदस्य, कूल सम्पत्ति २ अर्ब ६५ करोड ३७ लाख ६४ हजार रहेको छ । १५ करोड ५५ लाख ५१ हजार शेयर पूँजी रहेको संस्थासँग २२ करोड ३३ लाख ७२ हजार संस्थागत पूँजी छ । २ अर्ब ५ करोड ९५ लाख ६८ हजार बचत रहेको संस्थाले १ अर्ब ५३ करोड ८१ लाख ६३ हजार ऋण लगानी गरेको छ ।
साथै संस्था २४ औं वर्षमा प्रवेश गरेको छ । २०५९ साल जेठ ८ गते २८ जनाको सहभागितामा ७ लाख पूँजी संकलन गरी स्थापना भएको संस्था २४ औं वर्षमा प्रवेश गरेको हो । २०५५ साल वैशाख ९ गते नेपालभर कार्यक्षेत्र रहने गरी रोयल सहकारी संस्थाको रुपमा काठमाण्डौमा स्थापना भएको थियो ।
पछि पोखरामा क्षेत्रीय कार्यालयको रुपमा स्थापना भएको यस संस्था सञ्चालनकै क्रममा क्षेत्रीय एवं शाखा कार्यालयहरुलाई स्थानीयकरण गरी स्वायत्त संस्थाको रुपमा स्थापित भएको थियो । संस्थाले शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण पश्चात संस्थाको कार्यक्षेत्र कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाभर रहेको छ ।
संस्थाले आफ्नो सेवालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउने अभियानमा अघि बढेको छ । संस्थाका भण्डारडिक, मोहोरिया कास्की र दुलेगौंडा तनहुँमा सेवाकेन्द्र रहेका छन् ।
Leave a comment