हाइलाइट

सहकारीमा अराजक गतिविधि गर्नेलाई दण्डीत गर्न झापा जिल्ला सहकारी संघको माग 

सहकारीमा अराजक गतिविधि गर्नेलाई दण्डीत गर्न झापा जिल्ला सहकारी संघको माग  :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा अराजक गतिविधि गर्नेलाई दण्डीत गर्न झापा जिल्ला सहकारी संघले माग गरेको छ । संघले सहकारी संस्थामा अराजक गतिविधि गर्ने माथि कडा निगरानी गर्न र दण्डीत गर्न राज्यसँग माग गरेको हो ।

संघले सदस्य संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी झापाको मधुमल्ला सेवा केन्द्र मोरङ्गमा कार्यरत सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछाने विकमाथि भएको र्दुव्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको हो ।

संघले प्रेस विज्ञप्ति प्रकाशन गरी असार २९ गते संस्थाका ऋणी सदस्य दुर्गामाया लिम्बु र माया मगरले भाखा नाघेको ऋणको तागेता गर्ने क्रममा गरेको र्दुव्यवहार र साङ्घातिक आक्रमण प्रति संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थाले गरेको ताकेतामा केहि असहमती भए त्यसको कानूनी पक्षबाट समस्याको हल निकाल्न सकिने भन्दै व्यक्तिगत प्रतिशोधमा उत्रनु निन्दनीय रहेको संघको भनाइ छ । संघले घटनाको घोर निन्दा र भत्सर्ना गर्दै प्रत्यक्षरअप्रत्यक्ष रुपमा सम्लग्न जोकोहि व्यक्ति तथा समुह भए पनि प्रचलित कानून बमोजिम दोषीलाई कारवाही गरी कानूनको दायरामा ल्याउन माग गरेको छ।

संघले भनेको छ सहकारीका आम सदस्यहरुको श्रम र पसिनाबाट आर्जित रकम बचतको रुपमा जम्मा गरी सहकारी मार्फत सदस्यहरुलाई लगानी गरिएको कर्जा नतिर्न अराजक समूह तथा स्वार्थ समूहको आड लिई फाइदा उठाउँदै वित्तिय कारोबार गर्ने सहकारी संस्था माथि प्रहार केन्द्रित गर्दै आएका छन् ।

कुनै पनि गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डीत हुनुपर्दछ । सहकारी संस्था विना समाजमा नागरिकको वित्तीय पहुँच, वित्तिय साक्षरता, एकता र नेतृत्व विकास सम्भव छैन । सदस्यले यी कुरामा चनाखो हुँदै यदि कुनै समस्या भए संस्थाको साधारण सभा, कार्यलयमा नै गएर वा सम्बन्धित निकायमा आवाज उठाउन सकिन्छ ।

दुर्ब्यवहार गर्ने विरुद्ध पक्राउ पूर्जी जारी

संस्थाका कर्मचारीलाई दुर्ब्यवहार गर्ने विरुद्ध पक्राउ पूर्जी जारी भएको जनाइएको छ । कर्मचारी रमेश राई र सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगरविरुद्ध पक्राउ पूर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ । उनीहरुले सहकारीका कर्मचारीलाई ऋण तिर्ने भनेर घरमा बोलाई केही दिन अघि दुर्ब्यवहार गरेका थिए। दुवैलाई अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापालाई ध्यानाकर्षण

संस्थाले उक्त घटनाका बारेमा मंगलवार जिल्ला प्रशासन कार्यालय झापामा पनि ध्यानाकर्षण पत्र बुझाएको छ । सहारा नेपालका उप निर्देशन दिनेश निरौलासहित सञ्चालक समितिसहितका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।



Leave a comment