काठमाडौं । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी मन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले सयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था बरहथवा–१५, सर्लाहीका अध्यक्ष गोविन्द्रप्रसाद उप्रेतीलाई प्रदान गरिएको छ ।
उनलाई मन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सहकारी पत्रकारिता पुरस्कार नेपालपत्र न्युजका सम्पादक माधव खड्कालाई प्रदान गरियो भने उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार जिल्ला सहकारी संघ, रुपन्देहीका व्यवस्थापक लक्ष्मी ज्ञवालीलाई प्रदान गरिएको छ ।
दुवै पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । केन्द्रीय सहकारी संघतर्फबाट नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत भयो । जिल्ला तहमा भने दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गरेको छ ।
त्यसैगरी सात प्रदेश अन्तर्गत प्रारम्भिक सहकारी संस्थामा कोशी प्रदेशबाट मेची कृषक बहुमुखी सहकारी संस्था, मधेश प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था धनुषा,बागमती प्रदेशबाट सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौती, काभ्रे र गण्डकी प्रदेशबाट ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा पुरस्कृत भएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशबाट इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था रुपन्देही, कर्णाली प्रदेशबाट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्ला र सुदूरपश्चिम प्रदेशबाट जीवनज्याति बचत तथा ऋण सहकारी संस्था, बैतडी पुरस्कृत भएका छन् ।
Leave a comment