हाइलाइट

मापदण्डले सहकारीमा जोखिम बढाएको छ 

मापदण्डले सहकारीमा जोखिम बढाएको छ  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले प्राधिकरणले जारी गरेको मापदण्डले बचत सहकारीमा जोखिम बढाएको बताएका छन् । लाखाजुले प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्ड सहकारीमा जोखिम घटाउन ल्याएको तर तत्काल कार्यान्वयन गर्नुपर्दा उल्टो जोखिम बढाएको बताएका हुन् ।

जिल्ला बचत संघको शिक्षा तथा सस्ंथागत उपसमितिले आयोजना गरेको एकदिने सहकारीमा जोखिम व्यवस्थापन तालिममा उनले हालको मापदण्ड अनुसार संस्थाले सदस्यको बचत संकलनको सिमाले बचत फिर्ताको चाप बढ्ने र लामो समयका लागि लगानी गरेको ऋणको सावाँ व्याज असुल नहुँदा संस्थामा तरलता जोखिम बढाउने बताए ।

सहकारीमा संचालक, लेखासमिति, कर्मचारी र सदस्यहरुबाट समेत जोखिम हुने भएकोले ती जोखिमलाई न्यूनिकरण गर्न संस्था सहकारीको सिद्धान्त अनुसार नीति, विधि र प्रविधिमा आधारित भएर संचालन गर्नुपर्ने बताए । उनले सहकारीमा जोखिम धेरै भएकोले जोखिमलाई न्यूनीकरण गरेर कार्य गर्नुपर्ने बताए । तालिमलाई नेफ्स्कूनले सहजीकरण गरेको थियो ।

संघका सचिव जगनाथ प्रजापतिले जोखिम हरेक क्षेत्रमा हुने भन्दै जोखिम बहन गर्नसक्ने जोखिम मात्र लिनुपर्ने बताए । सहकारीमा जोखिमलाई पहिचान गरी न्युनिकरणका उपायहरु अवलम्बन गर्न सकियोस् भनेर नै तालिमको आयोजना गरेको बताए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संचलानमा आन्तरिक र बाह्य जोखिम हुने भएकोले आन्तरिक जोखिमलाई संस्थाका संचालक र व्यवस्थापनले न्युनिकरणका लागि भुमिका खेल्नुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका तालिम अधिकृत उमेश कोईरालाले जोखिमको परिचय, जोखिमको प्रकार, सहकारीमा जोखिमबाट बच्ने उपाय विषयहरुमा प्रयोगात्मक ढंगबाट सहजिकरण गरेका थिए । तालिममा चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुद्र्धशन चौलागाईले सहकारी संचालनका जोखिम न्यूनिरणका लागि महत्वपूर्ण र प्रभावकारी तालिमको आयोजना गरिएकोमा खुशी व्यक्त गरे । तालिममा संघमा आवद्ध सदस्य संस्थाहरुबाट १९ जनाको उपस्थिति रहेको थियो ।



Leave a comment