हाइलाइट

भक्तपुर जिल्ला बचत संघको महिला नेतृत्व विकास तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत संघको महिला नेतृत्व विकास तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले महिला नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । संघको महिला सशक्तिकरण उपसमितिको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिमलाई नेफ्स्कूनले साझेदारी गरेको थियो ।

तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी प्राधिकरणले जारी गरेको मापदण्ड सहकारीमा भए गरेका बदमासीलाई कारवाही गर्ने भन्दा पनि अन्य सहकारीलाई नियन्त्रण गर्न ल्याएको बताए । संघमा रहेको संस्थाको बचतलाई तरलता गणना नहुने सम्बन्धी व्यवस्थाको संघले विरोध गर्दै आएको र सो व्यवस्था तुरन्त सच्यानुपर्ने बताए ।

सहकारीमा महिला सदस्यकोे बहुमत भएतापनि नेतृत्व तहमा न्यून संख्या रहेको तथ्यांकले देखाएको उनले भने । सहकारीमा नेतृत्व गर्नलाई सहकारी मूल्य, मान्यता बुझ्नुको साथै सहकारी सम्बन्धी ऐन, नियमावली, मापदण्ड, संस्थाको विनियम, नीति, कार्यविधि सम्बन्धी जानकार भएको हुनुपर्ने उनको भनाइ थियो । सहकारीमा नेतृत्ववर्गले आफूमा स्वयम्सेवी भावनाको विकास गर्नुका साथै सम्पूर्ण क्षेत्रमा क्षमतावान भएमा महिला नेतृत्व बृद्धि हुनेमा दुईमत नरहेको बताए ।

तालिममा नेफ्स्कूनका तालिम अधिकृत रिता सुवेदीले नेतृत्वको परिचय, नेतृत्वको शैली र प्रकार, नेतृत्वको आवश्यकता र महत्व, सहकारीमा नेतृत्व गरेका व्यक्तिको जिम्मेवारी विषयहरुमा सहजिकरण गरेकी थिइन् । कार्यक्रमकी संचालक सदस्य कृष्णश्वरी मचामसीले महिला नेतृत्व विकास तालिम, तालिम लिनका लागि मात्र नभईकन सहकारीको अध्यक्ष एक दिन बन्नेछु भन्ने बिचार लिएर जानु सहभागीलाई अनुरोध गरिन् ।

महिला सशक्तिकरण उपसमितिका सदस्य निर्जला ढुंगेल दाहालले पनि तालिममा सिकेका कुराहरु संस्थामा गएर कार्यान्वयन गर्न अनुरोध गरिन । उनले अवसरकै कमीले गर्दा पनि महिला नेतृत्वमा कमी भएको उनको भनाइ थियो । तालिममा संघमा आवद्ध सदस्यसंस्थाहरुबाट ४८ जनाको उपस्थिति रहेको थियो ।



Leave a comment