काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले समाचार लेखन तालिम सम्पन्न गरेको छ । संस्थाले संस्थाका कर्मचारी तथा पदाधिकारीलाई चारदिने समाचार लेखन लालिम दिएको हो । संस्थाको सदस्य तथा बचत उपसमितिको आयोजनामा संस्थाका गतिविधि, घटना, कार्यक्रमहरुलाई लिपीबद्ध गर्न र लेखन कला अभिबृद्धि गराउने उद्देश्यले तालिम दिएको जनाइएको छ । संस्थाका उपसमिति संयोजक शर्मिला मानन्धरको अध्यक्षता तथा अध्यक्ष राधेश्याम सुवाल, व्यवस्थापक शिवजी हाकुदुवाल र प्रशिक्षक प्रेम प्रजापतिको आतिथ्यतामासमापन तालिम कार्यक्रम सम्पन्न भएको हो ।
असार १० गते देखि १३ गतेसम्म संचालन भएको तालिममा संस्थाका अध्यक्ष सुवालले सहकारी संस्थाका कर्मचारीहरु सक्षम शिक्षित र दक्ष हुनको लागि हरेक विषयको तालिम र कला हुनु जरुरी भएको बताए । उनले सिकेको कला, क्षमतालाई प्रयोगमा ल्याउनुपर्ने बताए ।
संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले संस्थाका पदाधिकारी र व्यवस्थापनका कर्मचारीहरुले संस्थाको हरेक लक्ष्य र विविध गतिविधिहरु सम्पन्न गर्ने भएकोले यो क्षमता अभिबृद्धि तालिमले थप सहयोग हुने बताए । तालिमका प्रशिक्षक, प्रेम प्रजापतिले सिक्ने सिकाउने कुरा कहिल्यै नटुङ्गिने भन्दै संस्थाले यस्ताखाले तालिमको निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा सदस्य तथा बचत उपसमितिका सदस्य एवं प्रशिक्षार्थी रितु बासुकलाले स्वागत मन्तव्य, प्रशिक्षाथीहरु संगिता पंच, रवि ध्वजुले अनुभव मन्तव्य राखेका थिए । तालिममा १८ जना सहभागिहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।
Leave a comment