काठमाडौं । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले “सबै जुटौं, सदस्य भेटौं” भन्ने मूल नारासहित सञ्चालन गरेको २१ दिने अभियानको कुश्मामा कार्यक्रम गरी सम्पन्न गरेको छ ।
बैशाख २३ गतेबाट वित्तीय तथा प्रविधि सचेतना र्यालीसहित सुरुवात गरिएको कार्यक्रम जेठ १३ गते औपचारिक रूपमा सम्पन्न गरेको हो। संस्थाका समिति, उपसमिति, कार्यदल, गाउँटोल समन्वय उपसमिति, कर्मचारी र सेयर सदस्य गरी ४ सय भन्दा बढीको उपस्थितीमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले २१ दिने अभियानका क्रममा संस्थाले हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका थिए ।
अध्यक्ष शर्मा पौडेलले अभियान अवधिमा संस्थाले ३५९ जना नयाँ शेयर सदस्यहरू थप गरेको छ भने बाल बचतकर्ता संख्या पनि २३९ ले वृद्धि भएको छ । यसै अवधिमा सेयर पुँजीमा ११ लाख ४७ हजार ३ सय रुपैयाँ र बचतमा १ करोड १६ लाख ९४ हजार १ सय ७ रुपैयाँको वृद्धि भएको छ । साथै, ऋण लगानीतर्फ ४ करोड ४२ लाख १७ हजार ६ सय ५० रुपैयाँले वृद्धि भएको जनाइएको छ ।
निस्क्रिय सदस्यहरूलाई पुनः सक्रिय बनाउने अभियान अन्तर्गत २९९ जना सदस्यलाई सक्रिय बनाइएको जनाए । ४४९ जना भुक्तान नदिएका ऋणी सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी ऋण असुली प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । त्यसैगरी डिजिटल सेवा पहुँच विस्तारको क्रममा ३५० जना सदस्यहरूलाई मोबाइल तथा डिजिटल सेवामा समावेश गराइएको जनाइएको छ ।
साथै, वित्तीय साक्षरता अभिवृद्धिका लागि समुदायस्तरमा ३८ वटा कार्यक्रम सञ्चालन गरिएको थिए, जसबाट १ हजार ३६० जना सहभागी लाभान्वित भएका छन् । यस्तै, विद्यालयस्तरमा १७ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भई १ हजार २१३ जना विद्यार्थिलाई वित्तीय साक्षरता दिइएको छ ।
संस्थाले अभियान अन्तर्गत ९२ वटा गाउँ र टोल समन्वय समिति गठन गर्नुका साथै ६ हजार ९०० जना सदस्य तथा गैर–सदस्यहरूसँग घरमै पुगेर प्रत्यक्ष सम्पर्क कायम गरेको छ । साथै, सम्भावित जोखिम व्यवस्थापनका लागि २५ वटा विपद् व्यवस्थापन कार्यदल पनि गठन गरिएको छ ।
अध्यक्ष पौडेलले अभियानको समग्र उद्देश्य सहकारी सेवा विस्तार, सदस्यसँगको प्रत्यक्ष सम्बन्ध सुदृढीकरण, वित्तीय पहुँचमा वृद्धि, विद्यार्थि तथा युवाहरुमा वित्तीय र प्रविधि सशक्तीकरण भएको उल्लेख गरे ।
२०६७ सालमा बागलुङ बजारमा स्थापना भएको सिवाईसी साकोसले हाल धवलागिरी क्षेत्रका बागलुङ, पर्वत र म्याग्दीमा २५ वटा सदस्य सेवाकेन्द्र मार्फत वित्तीय तथा गैरवित्तीय सेवाहरु सञ्चालन गरिरहेको छ ।
संस्थामा २६ हजार ८ सय ५८ सेयर सदस्य, ६ हजार ४ सय ६७ बाल बचतकर्ता, ३९ करोड ४२ लाख सेयर पुँजी, २० करोड ४३ लाग संस्थागत कोष, १ अर्व ५५ करोड बचत, १ अर्व ३६ करोड लगानी, १०५ जना कर्मचारी र २ अर्व ३४ करोडको कुल सम्पत्ती रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले जानकारी दिए ।
कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्वतका सचिव शिव शर्मा, सिवाईसी साकोसका उपाध्यक्ष सीता सापकोटा, ब्रहमकुमारी ईश्वरीय विश्व विद्यालय कुश्माका राधिका दिदि, गुप्तेश्वर सदस्य सेवाकेन्द्रका परामर्शदाता माधवप्रसाद पौडेल, पञ्चकोसी सदस्य सेवाकेन्द्रका संयोजक मिना केसीलगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Leave a comment