हाइलाइट

सहकारीमा कर्मचारीबाटै रकम हिनामिना हुँदा प्रमुख भन्छन् ‘अलिअलि बदमासि भएछ’

सहकारीमा कर्मचारीबाटै रकम हिनामिना हुँदा प्रमुख भन्छन् ‘अलिअलि बदमासि भएछ’ :: Sahakari Akhabar

काठमाडौं । एक्सेस ब्राण्ड प्राप्त र समुदायमा आधारित भनिएका सहकारीमै ब्यवस्थापन कमजोर देखिएको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा ब्यवस्थापन कमजोरीका कारण कर्मचारीबाटै सदस्यको पैसा अपचलन भएको पाइएको हो ।

संस्थामा कार्यरत तीनजना कर्मचारीले रकम अपचलन गर्दा पनि प्रमुखले भने अलिअलि भनेर गैह्रजिम्मेवार जवाफ दिएका छन् । संस्थाले तीनजना कर्मचारीबाट सदस्यको रकम हिनामिना गरेको बताए पनि कति रकम हिनामिना भएको भन्ने संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरेको छैन ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले मिलिजुली खबरसंग टेलिफोन वार्तामा अलिअलि बदमासि भएको भन्दै, तीन करोड चानचुन अपचलन भएको बताएका छन् । संस्थाका प्रमुख बस्नेतले टेलिफोनमा भने, ‘स्टाफबाट अलिअलि बदमासि भएछ, लगभग तीनकरोड चानचुनको कुरो छ ।’

त्यसैगरी सस्थामा २०७५ साल देखि कार्यरत कर्मचारीबाट रकम अपचलन गरि आफ्नो खाता संगै नातेदारको खातामा पनि रकम पठाएको खुल्न आएको र अपचलन गर्ने तीन जना मध्ये २ जना ऋण असुली विभाग र एक जना कुशादेवी सेवा केन्द्रका प्रमुख रहेको सिरुपाते खबरले लेखेको छ ।

रकम अपचलन गर्नेहरुमा संस्थाका ऋण असुली विभागका सुवास सापकोटा, सुन्दर घिमिरे र कुशादेवी सेवा केन्द्रका प्रमुख विकास खड्काले जम्माजम्मी ४ करोड ६० लाख भन्दाबढी रकम हिनामिना गरेको खबरमा उल्लेख छ । साथै सापकोटा र घिमिरेले सस्थाको पैसा सिधै अपचलन गरेको, खड्काले भने पदको दुरुपयोग गरि आफन्तलाई ठूलो रकम ऋण निकाल्न लगाएर आफुले चलाएको भेटिएको सिरुपाते खबरमा उल्लेख छ।

संस्थामा कर्मचारीबाट रकम हिनामिनाको खबर बाहिरिएपछि संस्थाले विज्ञप्ति जारी गर्दै कर्मचारीबाट रकम हिनामिना भएको जनाएपनि कति रकम हिनामिना भएको भन्ने उल्लेख गरेको छैन । विज्ञप्तिमा भनेको छ, ‘संचालकहरु नीतिगत निर्णयमा मात्र सहभागि हुने र संस्थाको आर्थिक कारोबारमा सहभागि हुन नपाउने भएको हुँदा संचालक समितिबाट रकम अपचलन र दुरुपयोगको सम्भावना नै नहुने जानकारी गराउँदछौं ।’

मिलिजुली खबरसंग टेलिफोन वार्ताकै क्रमम कोअपरेटिभ म्यानेजर्स कल्व काभ्रेका निवर्तमान अध्यक्ष समेत रहेका संस्थाका प्रमुख कार्यकारी बस्नेतले भने, ‘संचालक समितिका सचिवको संयोजकत्वमा छानविन कमिटि गठन भएको छ । चुपचाप बसेको हैननी, अहिले पत्ता लगाएको पनि हामीले नै हो फेरी, अलिअलि हुँदा थाहै हुँदैन । कहाँनेर वाच हुँदैन, त्यानेर हिट गरेका छन् ।’ इन्टरनल कर्मचारीले गरेको हुनाँले थाहा नहुने ठाँउमा बदमासी गरेको प्रमुख बस्नेतको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एकजना कर्मचारीले आफ्ना आफन्त तथा नातेदार सदस्यहरुलाई आफू जिम्मेवारी बसी ऋण बनाई आफैंले उपयोग गरेकोमा साँवा तथा ब्याज रकम सम्पूर्ण असुल भएको छ । एकजना कर्मचारीले अपचलन गरेको रकम असुली भईसकेको साथै अर्को एकजना कर्मचारीले अपचलन गरेको रकम असुलीको क्रममा रहेको र छानविन प्रकृया जारी रहेको जानकारी गराउँदछौं ।’

त्यसैगरी संस्थामा यस अघि चोरी हुँदा त्यसको १२ दिन भित्र चोर समातिएको र बाह्य ब्यक्तिहरुबाट संस्थामा चोरी हुँदा त संस्थाले कानूनी प्रकृयामा ल्याउन सफल भयो भने, संस्थाका कर्मचारीहरुबाट भएको अपचलनको ब्यहोरा खाताबन्दी गर्दा त थाहा हुन्थ्यो नै तथापी हाम्रो ब्यवस्थापनले त्यसभन्दा अगावै पत्ता लगाएको, विज्ञप्तिमा उल्लेख छ ।



Leave a comment