काठमाडौं । काभ्रेको ‘कोअपरेटीभ सोसाईटी’ कि चितवनको ‘बखान सहकारी समिति’ पहिलो भन्ने विषयमा बनेपामा आज छलफल भएको छ ।
काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ‘नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला’ विषयक अन्तरक्रिया आयोजना गरि सहकारी इतिहास खोतल्ने प्रयास गरेको हो ।
संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजना गरेको उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपालको पहिलो सहकारी संस्था बनेपामा स्थापना भएको दावी गरेकाछन् ।
उनीहरुले नेपालमा २०१३ साललाई आधार मानि सहकारी दिवस मनाउन सुरु गरेको भए पनि विक्रम सम्वत् २००० साल भदौमा नै काभ्रे जिल्लाको बनेपामा ‘कोअपरेटीभ सोसाईटी’ सहकारी संस्था खुलेको ऐतिहासिक तथ्य तथा प्रमाणहरु सरकारी दस्तावेजमा समेत उल्लेख भएको बताएका छन् ।
वि.स. २००० सालमा नै बनेपाका समाजसेवी एवं प्रतिष्ठित व्यक्ति स्व. राजदास बादे श्रेष्ठको अगुवाईमा मे.ज. विजय शम्सेर जबरा र भिम बहादुर पाण्डेको सहयोगमा पूर्व १ नम्बर काभ्रेका कृषकहरुको जमीन साहुको बन्धकीबाट निखनी उनीहरुको अवस्था सुधार ल्याउन र कृषि उत्पादनमा वृद्धि गर्न बनेपामा ‘ल्याण्ड मोटगेज बैंक तथा को–अपरेटिभ सोसाइटी’ स्थापना भएको उनीहरुको भनाई छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले समेत नेपालको पहिलो सहकारी संस्था बनेपामा स्थापना भएको भन्ने कुरा प्रतिवेदनमा उल्लेख गरेसँगै यी विषयले थप पुष्ट्याई पाएको उनीहरुले जनाए ।
समितिले बुझाएको प्रतिवेदनका कतिपय कुरा सरकारले कार्यान्वयनमा लगेकाले यो विषयलाई समेत विशेष प्राथमिकता साथ उठान गर्नुपर्ने बक्ताहरुको भनाई छ ।
संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक तथा संस्थाका संचालक केशव थापाले सो विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुतगर्दै उनले विभिन्न समयमा प्रकाशन भएका पुस्तक, सरकारी कागजात, स्थानीय जानकार र कतिपय सहकारी अभियन्ताले नेपालमा पहिलो पटक सहकारी संस्था बनेपामा नै स्थापना भएको पुष्टी गर्ने उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अथिति तथा बागमती प्रदेश सदस्य कन्चनचन्द्र बादेले संसदीय छानविन समितिले समेत आफुहरुले उठाउँदै आएको कुरालाई प्रतिवेदनमा समावेश गरेको र सरकारले अपनत्व समेत लिएकाले बनेपामा स्थापित सो सहकारी पहिलो हो भनेर पुष्टी गर्न सक्ने आधार निर्माण भएको बताए ।
उनले यस सम्बन्धी अध्ययनको लागि एउटा समिति बनाउन र उक्त समितिले तयार गरेको दस्तावेजलाई सम्बन्धित निकायमा पुर्याउन सघाउने प्रतिवद्धता जनाए ।
काभ्रे जिल्लामा स्थापना भएको सहकारी नै पहिलो हो भनेर इतिहासलाई प्रमाणित गर्न सके अभियानको लागि गौरवको विषय बन्ने उनको भनाई छ । समितिमार्फत यथेष्ट प्रमाणहरु जुटाउन आग्रह गर्दै प्रमुख अथिति बादेले यो विषयलाई आफुले गम्भिर रुपमा लिएको बताए ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले विगतमा तथ्य र प्रमाण पर्याप्त नरहेकाले बनेपामा पहिलो सहकारी संस्था स्थापना भएको भन्न गाह्रो भएको भन्दै संसदीय छानविन समितिको प्रतिवेदनमा यो कुरा आएकाले थप प्रमाण जुटेको उल्लेख गरे ।
मेयर शाक्यले वि.सं. २००० सालमा नै बनेपामा सहकारी संस्था दर्ता भएको हो भने २०८२ साल भाद्र १ गते बनेपामा सहकारी दिवस मनाउनुपर्ने जनाए ।
सो विषयमा नगरपालिकाको बैठकमार्फत प्रस्तावसहित अगाडि बढ्ने जनाउँदै उनले यसको लागि सहकारी अभियानले पनि साथ दिनुपर्ने बताए । इतिहास बनाउने कुरामा नगरपालिका कहिले पनि पछि नहट्ने उनको भनाई छ ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बनेपामा पहिलो सहकारी संस्था स्थापना भएको भन्ने विषयलाई संस्थागत गर्न अभियानको तर्फबाट ऐक्यवद्धता जनाउँदै त्यसको विधि खोज्न आग्रह गरे ।
यो विषयलाई संस्थागत गरेर जान ध्यानाकर्षण भएको र सरकारले निर्णय गर्ने परिस्थिति आयो भने त्यसलाई सर्वस्वीकार्य रुपमा ग्रहण गरिने उनको धारणा छ ।
यस बारेमा अझै धेरै विषयवस्तु र प्रमाणहरुलाई उजागर गरी संस्थागत गर्ने प्रक्रियामा लाग्न उनको सुझाव छ । सहकारीमा कानुनको ठेली र क्याल्कुलेटर थिच्ने दुई विषय महत्वपूर्ण हुने भन्दै उनले मनमा लागेका कुराले मात्र संस्थागत गर्न अपुग हुने उनले जनाए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सुमन नेपालले २००० सालबाट नै सहकारी शुरू भएको भन्ने तथ्य जुटेको र संसदीय छानबिन समितिको प्रतिवेदनमा समेत समावेश भइ सरकारले अपनत्व ग्रहण गरेकाले यसलाइ गहन छलफलमा लैजानुपर्ने उल्लेख गरे। आफूले महासंघको बोर्ड बैठकमा सो विषयलाइ उठान गर्ने गरेको भन्दै नेपालले ढिलो चाँडो २००० सालबाट नै सहकारीको स्थापना भएको घोषणा हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले २०५७ / ५८ सालमा काभ्रेका ७ वटा सहकारी संस्था मिलेर गोष्ठी आयोजना गरेको र सोही समयमा नै बनेपामा पहिलो सहकारी स्थापना भएको विषयले प्रवेश पाएको सम्झना गरे । नगरपालिकाले यस विषयको स्वामित्व लिएर ऐतिहासिक तथ्य र प्रमाणहरु खोजी गर्दै संस्थागत गर्न सबैपक्ष जुट्नुपर्ने उल्लेख गरे ।
त्यसैगरी जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले आफु अध्यक्ष भएर आएपछि यो विषयलाई प्रमुख मुद्दाको रुपमा उठान गरेको बताए । यसका लागि संघले कार्यदल गठन गरेको र काभ्रे जिल्लाको इतिहास उजागर गर्ने कुरामा लागिपरेको बताए ।
संस्थाका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सभा विसर्जन गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले काभ्रे जिल्ला सहकारी अभियानको उर्वर भूमि रहेको भन्दै मुलुकमा सहकारीको शुरुवात बनेपाबाट भएको भन्ने ऐतिहासिक तथ्य पुष्टि गर्न सबैपक्ष लाग्नुपर्ने बताए । यसलाई पुष्टि गर्न सके काभ्रे जिल्लाको लागि गर्वको विषय बन्ने उनको भनाई छ ।
Leave a comment