काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.शिवजी सापकोटाले बचतलाई सही परिचालन गर्नसक्ने व्यवस्थापन अहिलेको आवश्यकता रहेको बताएका छन् ।
सहकारीको कारोबार दशलाखबाट बढेर अर्ब पुगेपनि काम गर्ने कर्मचारीको क्षमता उही रहेको उनले बताएका हुन् । उनले सहकारीमा दक्ष जनशक्तिको अभाव रहेको पनि बताए ।
शुक्रबार बागमती प्रोस्कूनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशको सहकारीका समस्या समाधानका लागि साझा प्रयास विषयक गोष्ठीमा उनले ‘फिट एन्ड प्रोपर टेष्ट’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले बचत ऋण सहकारीमा कस्तो व्यक्ति सञ्चालक बन्न र नेतृत्व गर्न योग्य हुन्छ भनेर जाँच गर्नुपर्ने बताए । फिट एन्ड प्रोपर टेष्ट गरेर मात्र सहकारीको नेतृत्व लिन ÷ दिन आवश्यक रहेको भन्दै उनले कसैलाई आलोचना गरेर सहकारी अभियान नबन्ने प्रष्ट पारे ।
उनले शहरका सहकारीले घरजग्गा लगायतका सहज क्षेत्रमा ऋण लगानी गरको र सदस्यहरु पनि हौसिएर ऋण लिई जथाभावी लगानी गरेकाले समस्या आएको बताए ।
सिइओ सापकोटाले मैले सहकारीको वृद्धिको लागि के गरे भनेर खोज्ने बेला आएको भन्दै ‘सामाजिक सञ्जालमा एक जनाले लेख्ने अरु आठसयले कमेन्ट लेख्न भ्याउनेगरी फुर्सदिला रहेको बताए ।
सहकारीका सञ्चालक र कर्मचारीले आफु सहकारीमा छु भन्न लजाएको भन्दै यो कसैले आँैैला उठाउने क्षेत्र नभएको बताए । सहकारीलाई व्यवस्थित गर्न आफुबाट नै सुरुवात गर्नुपर्ने बेला आएको उनको भनाई छ ।
व्यवस्थित सहकारी सञ्चालनको लागि हामीले कति संस्थालाई ब्राण्ड दिलाउन सक्यौ, त्यसले मात्र अर्थ राख्ने उनले जनाए । फिट एण्ड प्रोपर टेष्ट गरी सबल व्यक्तिले मात्र संस्था चलाउने हो भन्ने कुरालाई स्थापित गर्न आवश्यक रहेको उनले बताए ।
सहकारीमा कुनै कुराको सीमा नभएको भन्ने भाष्य निमार्ण भएको भन्दै उनले सदस्यको पैसा लिएको संस्थामा सञ्चालकदेखि कर्मचारीसम्म सीमामा बस्नु पर्ने उनले बताए ।
बचत ऋण सहकारी संस्थाले गुणस्तर सुनिश्चितता कायम गर्नुपर्ने भन्दै सिईओ सापकोटाले जोखिम व्यवस्थापन नगरेका संस्थाहरु जुनसुकै बेला दुर्घटनामा पर्ने जनाए । बागमती प्रदेशमा १० हजार माथि सहकारी संस्था रहेको र ७१ सालसम्म सहकारी संस्थामा कुनै समस्या नभएको उनको भनाई छ।
फिट एण्ड प्रोपर टेष्ट अध्यक्ष, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनमा काम गर्ने व्यक्तिलाई लागु हुने उनले जनाए । हुनेले बैकमा पैसा राख्ने र नहुनेले सहकारीमा मासिक बचत गर्ने भएकोले दुई संस्थाबीच फरक भएको उनले जनाए ।
नियमित बचत संस्थाको मुटु भएको र सबै सदस्यलाई नियमित बचतमा सहभागी गराउन उनको सुझाव छ । कुल सदस्यको ४० प्रतिशत माथि ऋण लगानी गर्ने संस्था राम्रो भएको उनको भनाइ छ ।
सहकारीले लक्षित वर्ग सम्म जान अल्छि गरेकाले नै समस्या आएको उनको भनाई छ । सदस्यहरुको आर्थिक सहभागितामा बिना संस्था अगाडि बढाउन नसकिने भन्दै बचत र ऋणमा सदस्यहको सहभागिता बढाएर लैजान उनको सुझाव छ । सहकारीहरु सदस्यमा भन्दा ब्यालेन्ससिटमा केन्द्रीत भएकाले पनि अहिले समस्या आएको उनको तर्क छ ।
सहकारीले ऋण लगानीमा बैंकसँग प्रतिस्पर्धा नगरी सुरक्षित लगानी अहिलेको आवश्यकता रहेको भन्दै ऋण लिएर सदस्यले के गरिराखेको छ भनेर हेर्नुपर्ने र सदस्यमाझ सहकारी शिक्षा लिएर जान उनको सुझाव छ ।
संस्थागत र समाजमा स्वच्छ छवि बनाएको व्यक्ति सहकारी संस्थाको सञ्चालक चाहिने उनको भनाई छ । कार्यपत्र माथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले टिप्पणी गरेका थिए ।
उनले सहकारीले उद्देश्य बिपरित लगानी गरेका कारण समस्या आएको बताए । सहकारीले चेक धितो लिएर ऋण लगानी गरेको भन्दै उनले सदस्यहरुले गाँस कटाएर गरेको बचतलाई जथाभावी लगानी नगर्न आग्रह गरे ।
संस्थामा कस्ता खालका व्यक्तिले बचत गरिराखेका छन, बचतको स्रोत के हो भन्ने जस्ता विषयमा समेत सहकारी सचेत रहनुपर्ने बताए । बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले उक्त सत्रको अध्यक्षता गरेका थिए ।
Leave a comment