हाइलाइट

सहकारीको ऋण असुलीमा सहजीकरण गरिदिन मन्त्रालयलाई महासंघको आग्रह

सहकारीको ऋण असुलीमा सहजीकरण गरिदिन मन्त्रालयलाई महासंघको आग्रह :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघ÷संस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेका बताएका छन् । उनले सहकारी संघ/संस्थाको कर्जा असुलीलाई सहजीकरण गर्नका लागि सहकारी ऐनमा व्यवस्था भए अनुसार छिट्टै कर्जा असुली न्याधिकरण गठन र कर्जा सूचना केन्द्रमा आवद्ध गराउनका लागि तयारी भइरहेको बताएका हुन् ।

आज राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको छलफलमा उनले सहकारीको कर्जा असुली प्रक्रियालाई कानुनी सहजताकालागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएका हुन् । राष्ट्रिय सहकारी महासंघले सहकारीको ऋण असुलीमा सहजीकरण गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालगायत भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृतहरुसँगको छलफल गरेको थियो ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी ऐनमा सहकारी संस्थाले अचल सम्पत्ति खरीद गर्दा टिकट दस्तुर वा रजिष्ट्रेशन दस्तुर नलाग्ने उल्लेख गरेको भए पनि सबै प्रदेशमा लागु नभएको बताइन् । उनले धितो लिलाम विक्री गर्दा कसैले सकार नगरेपछि संथाले सकार गर्न सक्ने व्यवस्था भएपनि त्यसका लागि झन्झटिलो प्रकृया भएकोले सहजीकरण गर्नुपर्ने बताइन् । त्यसैगरी कार्यक्षेत्र भित्रको सदस्यको कार्यक्षेत्र बाहिरको धितो राख्न सहजीकरण गरी सम्पूर्ण मालपोल कार्यालयलाई परिपत्र गरिदिनुपर्ने उनको भनाइ थियो

 ऋण असुल गर्नका लागि संस्थाले कुनै सदस्यको खाता, जायजेथा स्वामित्व हस्तानतरण नामसारी वा विक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाएमा रोक्का राखि दिनुपर्नेलगायतका विषय अध्यक्ष मल्लले राखेकी थिइन् । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक सापकोटाले ऐन नियम अनुसार सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको भन्दै प्रदेशका कार्यक्षेत्रभित्रका विषयमा प्रदेशसँग नै बहस पैरवी गर्नुपर्ने बताए ।

छलफलमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष डिवी बस्नेत, संचालक काशीराज बराल, सुमन नेपाल, नेप्mस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाई, भुमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंका प्रमुख मालपोत अधिकृत जीवन सेढाई, छविलाल नेपाली, भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका प्रमुख मालपोत अधिकृत जीवन सेढाईलगायतको उपस्थिति थियो ।



Leave a comment