काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षका लागि सरकारले आज प्रस्तुत गरेको बजेटमा सहकारी क्षेत्रको सुशासन र शुद्धीकरणका विषय समेटिएको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।
संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री वर्षमान पुनले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१ / ८२ को बजेटमा अटाएका सहकारी क्षेत्रसम्बन्धी विषयमा प्रतिक्रिया दिर्दै नेफ्स्कून अध्यक्ष ढकालले भने, ‘समस्याग्रस्त सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गर्ने विषयले पक्कै सकारात्मक सन्देश जान्छ ।’
उनले साँच्चिकै मारमा परेका सहकारीका सदस्यहरुमा यसले आशा र विश्वास सञ्चार गर्ने बताए । उनले भने, ‘सञ्चालकहरुको सम्पत्ति धितो सुरक्षण राखेर भएपनि ५ लाख सम्मको बचत फिर्ताको सरकारको प्रत्याभूतिले वर्तमान समस्याको केही हदसम्म सम्बोधन गर्नेछ, ‘यो महत्वपूर्ण कुरा हो ।’
यद्यपि, यसमा थप स्पष्टता आवश्यक रहेको उनले बताए । उनले भने ‘हामीले के बुझ्नुपर्छ भने बचत रकम दुरुपयोगमा वा त्यससम्बन्धी निर्णय प्रक्रियामा संलग्न सञ्चालकहरु तथा तिनका एकाघर परिवारका सदस्यको धितो सुरक्षणबाट ५ लाख सम्मको बचत फिर्ता भन्ने हो अन्यथा सबै सञ्चालकहरुको भन्दा भोलि सहकारीमा सञ्चालकहरुको खडेरी पर्ने सम्भावनाप्रति पनि हामी सजक हुनुपर्छ ।’ यो विषय क्लियर हुँदा अरु समस्या नभएको उनको भनाइ छ ।
साथै उनले विद्यमान सहकारी कानून संशोधनको विषय पनि सहकारी सुशासन र शुद्धीकरणसँग जोडिएको बताए । सरकारले सहकारीमा विद्यमान ‘गभर्नेन्स इस्यू’ हरुलाई समेटेर सुशासन, शुद्धीकरण र सबलीकरणका लागि कानून संशोधनको विषय समेटेको भन्दै नेफ्स्कून अध्यक्ष ढकालले यसको स्वागत गरे । बजेट भाषणमा अर्थमन्त्री पुनले सहकारीलाई नीति र सिद्धान्त बमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गर्ने गरी कानून संशोधन गर्ने विषय उल्लेख गरेका छन् ।
नेफ्स्कून अध्यक्ष ढकालले बजेटले बचत तथा ऋण सहकारीका केही संगीन विषय बोलेको बताए । ‘बचत ऋण सहकारी नियमनको लागि छुट्टै निकाय स्थापना गर्ने विषयदेखि एकीकरणका लागि सहजीकरणको विषय सकारात्मक छन् ।’
उनले चाहेको र खोजेको सबै विषय अटाउँदा धेरै राम्रो हुने भएपनि सबै विषय सम्भव नहुने भन्दै समेटिएका विषय छिटोभन्दा छिटो कार्यान्वयनमा आउँदा सकारात्मक सन्देश प्रवाह हुने दाबी गरे । उनले बजेटका विषय कार्यान्वयनमा सरकारलाई घच्घच्याउने काममा निरन्तर अभियान लाग्ने पनि जनाए ।
Leave a comment