हाइलाइट

जनमुखी साकोसको चार बर्षे रणनितिक कार्य योजना निर्माण, ३३ हजार सदस्यको लक्ष्य

जनमुखी साकोसको चार बर्षे रणनितिक कार्य योजना निर्माण, ३३ हजार सदस्यको लक्ष्य :: Sahakari Akhabar

दोलखा । मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको चार बर्षे रणनितिक कार्य योजना निर्माण गरेको छ । संस्थाले “गुणस्तरीय, व्यवसायिक, विश्वसनीय र दिगो वित्तीय सहकारी संंस्था” को परिकल्पना सहित चार बर्षे रणनीतिक योजना बनाएको हो। संस्थाले चार बर्षमा ३३ हजार ३५६ सदस्य र २ अर्ब २० करोड पूँजी पुर्याउने लक्ष्य लिएको छ ।

आगामी आर्थिक बर्ष २०८१ / ०८२ देखी २०८४ / ०८५ सम्मका लागि योजना निर्माण गरेको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष माधवप्रसाद दहालको अध्यक्षता र नेफ्स्कून पुर्व सञ्चालक तथा बागमती प्रोस्कूनका महासचिव  जीवसराज खड्काको प्रमुख आतिथ्यतामा कार्यशाला गोष्ठी गरिएको थियो । कार्यशालाको सहजीकरण नेफ्स्कूनका पुर्व कोषाध्यक्ष तथा बरिष्ठ प्रशिक्षक केशवप्रसाद पोख्रेलले गरेका थिए ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति र उच्च व्यवस्थापनबाट २४ जनाको सहभागीता रहेको थियो । संस्थाको मुख्य कार्यालय मैनापोखरीमा भएको ३ दिने कार्यशाला गोष्ठीमा ११ वटा दीर्घकालिन उद्देश्यहरु पुरा गर्न आगामी ४ आर्थिक बर्षको लागि २९ वटा प्रमुख रणनीतिक लक्ष्यहरु निर्धारण गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको व्यवस्थापक भेष मिजारले जानकारी दिए ।

कार्यशालामा २० वटा सिस्टर क्लव र २० वटा बाल क्लव गठन गर्ने लक्ष्य लिएको उनले बताए । सदस्यहरुसँग सल्लाह र सुझाव लिन १६ वटा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, उत्पादन तथा सेवाको प्रभावकारिता विष्लेषणको लागि सदस्यहरुको सन्तुष्टि सर्वेक्षण गर्ने र संस्थाप्रति सदस्यको अपनत्व तथा सन्तुष्टीको मापन गर्न १० प्रतिशत सदस्यहरुको सर्वेक्षण गर्ने तथा सदस्यहरुलाई ज्ञान सीप तथा क्षमता अभिबृद्धि गर्न ९ हजार जनासदस्य शिक्षा र ४ हजार प्रविधि शिक्षा दिने  रणनीतिक लक्ष्य संस्थाको छ ।

सदस्यहरुमा उद्यमशिलताको विकास गरी प्रत्यक्ष रोजगार बनाउन ३ सयजना सदस्यहरुलाई व्यवसायिक सीप प्रदान गर्ने र १ सयजना सदस्यहरुलाई प्रत्यक्ष उद्यमी बनाउने, संस्थामा सदस्यहरुको प्राविधिक सेवामा पहुँच बृद्धि गर्न ३ हजारजना सदस्यलाई मोबाईल बैकिङ र १ हजार ४ सय सदस्यलाई क्युआर कोड सेवामा आवद्ध गराउने, संस्थाको कार्य सम्पादनको क्षमता बृद्धि गर्न ११ जना कर्मचारीहरुको थप व्यवस्था गर्ने र संस्थाको व्यवस्थापनको संरचनालाई चुस्त दुरुस्त बनाउन ५ वटा विभाग, ६ वटा संरचना खडा गर्ने लक्ष्य तयार गरिएको जनाइएको छ।

संस्थामा हालसम्म ११ करोड १० लाख शेयर पुँजी र १ अर्व ५ करोड निक्षेप रहेको  छ । जनमुखीको कूल पुँजी १ अर्व ३२ करोड रहेको छ भने १५ हजार ५६० जना शेयर सदस्य र ५ हजार ४९६ बाल बचतकर्ता रहेका छन्।
 



Leave a comment