काभ्रे / बनेपामा मुख्य कार्यालय रहेको यु एम बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र स्तरमा ११ औं बार्षिक साधारण सभा गरेको छ । काभ्रे र सिन्धुपाल्चोकका ९ विभिन्न स्थानमा सेवा केन्द्र रहेको सहकारी संस्थाले शेयर सदस्यको सुविधाको लागि स्थानीय स्तरमा नै साधारण सभा गरेको प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, भदौ २५ गते बनेपामा उद्धघाटन गरिएको साधारण सभा २६ गते पाँचखाल, २७ गते भकुण्डेवेशीमा सम्पन्न भएको छ भने २८ गते चौतारामा तय भएको छ । २९ गते बाह्रविसे, ३० गते खाडीचौर, ३१ गते पनौती, असोज १ गते सिपाघाट र २ गते मेलम्चीमा सञ्चालन हुने साधारणसभाको समापन असोज ४ गते बनेपामा समापन गरिनेछ ।
सोमबार भकुण्डेवेशी सेवा केन्द्र अन्तर्गतका सदस्य सहभागी गराएर साधारण सभा गरिएको छ । सभा उत्कृष्ट बचतकर्ता सितादेवी श्रेष्ठ, जेष्ठ सदस्य हर्षकुमार श्रेष्ठ, ऋण उत्कृष्ट कारोबार गर्ने एकबहादुर तामाङ, उत्कृष्ट शेयर खरिदकर्ता रामेश्वर अधिकारी, बाल बचतकर्ता आराध्य गौतम र उत्कृष्ट कर्मचारी सरिता पौडेललाई सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथी रहेको नमोबुद्ध नगरपालिका वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले उनीहरुलाई सम्मान गरेका थिए । लामाले शेयर सदस्यहरुले आफ्नो कारोबार रहेको सहकारीबारे चासो, चिन्ता र खबरदारी नगर्ने हो भने सहकारीमा समस्या आउने भन्दै नमोबुद्ध नगरपालिकाले छिट्टै सहकारी अनुगमन, नियमन गर्न कानून र गर्न सक्ने सहयोगबारे निर्णय गर्ने बताए । नगरपालिकाको सहकारी फोकल पर्सन तारादेवी सुनुवारले नाफा केन्द्रीत हुँदा सहकारीमा समस्या आएको भन्दै सदस्यको जीवनस्तर उकास्ने गरी सहकारीले काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा युवा परिषद् नमोबुद्धका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, सहकारीकर्मी उपेन्द्र अधिकारी, सहकारीका अध्यक्ष रामशरण श्रेष्ठ, मानव संशाधन तथा सदस्य परामर्श विभाथ प्रमुख चण्डिका वाग्ले, लेखा विभाग प्रमुख रोजी मल्लेपती, भकुण्डेवेशी सेवा कार्यालय प्रमुख सुजन हुमागाई लगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए । ५ करोड ३ लाख ८२ हजार शेयरपुँजी रहेको संस्थाले ७६ करोड २७ लाख ५८ हजार कर्जा लगानी गरेर ९२ करोड ४४ लाख २१ हजारको कारोबार गरेको छ ।
Leave a comment