विराटनगर । मोरङको उर्लाबारी–७ मा रहेको नारी सृजना कृषि सहकारी संस्थाले विभिन्न विधामा २७ जनालाई सम्मान गरेको छ । शनिबार आयोजित संस्थाको २४ औं वार्षिक साधारणसभाको अवसरमा संस्थाका पूर्व सञ्चालक, ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट बचत तथा ऋणमा योगदान गर्ने सदस्य र विपन्न सेयर सदस्यका छोराछोरीलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
संस्थाले पूर्वअध्यक्ष भागीरथा अधिकारी, पूर्व सचिव रेखाकुमारी पोख्रेल, पूर्व सञ्चालक सदस्यहरु जानुका भट्टराई, रमा थापा खड्का, हिरादेवी राई, शान्ता कार्की भट्टराई, कविता कार्की, सेवनकुमारी कार्की र शारदा ओझा अधिकारीलाई सम्मान गरेको हो । यस्तै, उत्कृष्ट बचत तथा ऋणमा योगदान गर्ने शेयर सदस्यहरु मुन्नी खातुन, तोर्णकुमारी श्रेष्ठ, अन्जु दाहाल भट्ट, कमला ढुंगाना, कुमारी श्रेष्ठ र निर्मला भट्ट सम्मानित भएका छन् ।
संस्थाले बृद्ध सदस्य सम्मान कार्यक्रम अन्तर्गत सन्तोषीमाया तामाङ, चन्द्रकला थापा, बासुका भण्डारी, सीता थापा र मेनुका देवी गुरागाईलाई जनही १५ सय नगदसहित सम्मान गरेको छ । यस्तै, सेयर सदस्यका छोराछोरीमध्ये सामुदायिक विद्यालयबाट सबैभन्दा बढी जिपिए प्राप्त गरी कक्षा १२ उत्तीर्ण हुने सुवासिस खनाललाई पनि १५ सय नगदसहित पुरस्कृत गरेको व्यवस्थापक इन्दिरा खनालले जानकारी दिइन् । यसैगरी, गरिब तथा विपन्न वर्गका ६ जना विद्यार्थीलाई १५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेहरुमा सम्झना भट्टराई, दिप सुवेदी, अनुज बोगटी, अभिषेक माझी, आशिष कट्वाल र विवेक कट्वाल रहेका छन् ।
जिल्ला कृषि सहकारी संघ मोरङका उपाध्यक्ष शोभितमान पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको व्यवस्थापक खनालले बताइन् ।
१ करोड २७ लाख ४२ हजार ७ सय शेयर रकम रहेको सहकारी संस्थाले गत वर्ष ८२ लाख ४६ हजार १६८ रुपैयाँ आम्दानी र ७१ लाख ८६ हजार ८११ रुपैयाँ खर्च गरेको विवरण प्रतिवेदनमा उल्लेख छ । संस्थामा २ हजार १५७ जना शेयर सदस्य रहेका छन् । साधारणसभा संस्थाकी अध्यक्ष पुष्पाकुमारी राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Leave a comment