बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीलाई संरक्षण गर्ने जिम्मेवारी संस्थाका शेयर सदस्यहरुको भएकोले सदस्यहरु सचेत हुनु पर्नेमा जोड दिएका छन् । ‘सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, यसलाई सञ्चालन गर्न, राम्रो बनाउन तथा सहकारीकै रुपमा अगाडि बढाउनका लागि सदस्यहरुको सक्रियता, सहकार्य र समन्वय आवश्यक छ’ उनले भने ।
कास्कीको पोखरा महानगरपालिका–२६ स्थित लेखनाथ वचत तथा ऋण सहकारीको चौधौ वार्षिक साधारणसभामा बोल्दै जिसीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याहरुका कारण आम समुदायमा सहकारी खराव पो हुन् कि भन्ने आशंका बढेको बताए । ‘सहकारीहरुले साधारणसभामा मार्फत आफ्ना सदस्यहरुलाई संस्थाको अवस्था, योजना, कार्यक्रम र वित्तीयअवस्थाको बारेमा सचेत बनाउदै यस्ता भ्रमहरु चिर्न आवश्यक छ ।’
सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि नियमित रुपमा सहकारी शिक्षा, सदस्य भेटघाट तथा सदस्य केन्द्रीत अभियानहरु सञ्चालन गर्नुपर्नेमा जोड दिदै जिसीले सदस्यहरु पनि नाफा भन्दा सुरक्षा र अन्य सुविधामा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष खडानन्द लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र वझा, फेवा सिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत त्रिभुवन पराजुली, जनप्रिय सहकारी संस्थाका अध्यक्ष रविमोहन अधिकारी, लायन्स क्लव इन्टरनेशनल ३२५ का कोषाध्यक्ष नारायण बराल, शेयर सदस्यहरु गोविन्द वाग्ले र गंगा लामिछाने लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा जेष्ठ नागरिक, विद्यार्थी, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । संस्थाले संस्थागत रुपमा सदस्यहरुसँग वित्तीय कारोबारसंगै सामाजिक रुपमाशिक्षा, स्वास्थ्य, रक्तदान, वृक्षारोपण लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
१ हजार ८ सय जना शेयर सदस्य रहेको संस्थामा ७ करोड शेयर पुँजी, ५ करोड कोष, ३८ करोड वचत रकम, ४४ करोड कर्जा लगानी सहित ५१ करोडको कुल कारोबार रहेको संस्थाका व्यवस्थापक गोविन्द लामिछानेले जानकारी दिए ।
Leave a comment