झापा । पछिल्लो समय सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था कृषि र कृषकको हितका कर्यलाई प्राथमिकता दिएको छ । संस्थाले कृषक सदस्य तथा उनीहरुको ब्यवसायलाई बिमालगायत प्राविधिक शिक्षा तालिममा जोड दिएको हो । संस्थाले सञ्चालन गरेको पशुधन बिमामा सदस्यको आकर्षण बढ्दै गएको छ ।
संस्थाले प्रदेश १ को झापा–इलाम, उदयपुरलगायतको चुरे क्षेत्रमा बाख्रा पकेट कार्यक्रम सञ्चालन गरेको छ । संस्थाको एग्री विजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले सदस्यले पालेका ३ हजार पशुको पशुधन बीमा गरिदिएको बताए । चालू आर्थिक वर्षको जेठ महिनासम्म करिब ६ करोड रुपैयाँ हाराहारीको पशुधन बिमा गरिएको छ ।
आगामी आर्थिक वर्षसम्ममा १० हजार उद्यमी सदस्य बनाउने संस्थाको लक्ष्य छ । कृषि तथा पशुपालनमा लगानी तथा सेवामा वृद्धि गरिरहेको संस्थाले जनाएको छ । संस्थाले जेठमा मात्रै ९ स्थानमा बाख्रा तथा बंगुरपालन सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
बाख्रा तथा बंगुरको खोर व्यवस्थापन, दाना तयारी, रोग लागेमा गरिने प्राथमिक उपचार विधि लगायतमा प्रशिक्षण दिइएको थियो । उक्त तालिममा ३२० जना किसान सहभागी भएर प्रयोगात्मक तालिम लिएको डा. भाटले बताए ।
सो अवसरमा ७ लाख रुपैयाँ बराबरका पशु चौपायालाई खुवाउने औषधि पनि निशुल्क वितरण गरिएको थियो । भिटामिन, नाम्ले र जुकाको दबाई, खनिज मिश्रण, लिभर टनिक, सर्पोफोरल, गोल्ड लगायत औषधी वितरण गरिएको थियो ।
त्यस्तै ५ स्थानमा धानको ब्याड राख्ने तालिम पनि दिइएको थियो । उत्पादन हुने धानको जात अनुसार ३ हजार केजी बिउ पनि किसानलाई निःशुल्क प्रदान गरेको डा. भाटले बताए । संस्थाले एक हजार ५सय उद्यमी सदस्यलाई २ केजीका दरले सुडान जातको घाँसको बिउ दिएको छ ।
Leave a comment