काठमाडौ । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउपालिका वडा ६ को अध्यक्षमा सहकारीकर्मी चक्रबहादुर बस्नेत निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवारी दिएका बस्नेतले नेपाली कांग्रेसका रामकुमार थापालाई पराजित गरेका हुन् ।
विजेता बस्नेतले १ हजार ३ सय ९७ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी उनका प्रतिद्धवन्दी थापाले १ हजार ३ सय ५३ मत ल्याएका थिए ।
जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष तथा प्रदेश बचत तथा ऋण सहकारी संघ बागमतीका संचालक बस्नेतले ४४ मतले पछि पारेर जित हाँसिल गरेका हुन् ।
शिक्षण पेसासँगसँगै सहकारी र सामाजिक अभियन्ताको कामबाट सिन्धुपाल्चोक जिल्लामा ‘चक्र सर’ को पहिचाहन स्थापित गरेका बस्नेतले सुनकोसी गाउँपालिका वडा नम्बर–६ को वडा अध्यक्षको उम्मेदवारी दिएका थिए ।
सहकारी र सामाजिक कामबाटै लोकप्रिय बनेका उनी अब जनप्रतिनिधि बनेर जनताकै सेवामा सर्मपित हुने बताएका छन् । बस्नेतको सहकारीमार्फत नै जनताको जीवनस्तर उकास्ने योजना छ ।
वडा नम्बर ६ मा ३ हजार ९ सय मतदाता छन् । आफु निर्वाचित भएमा कसैलाई काखा, कसैलाई पाखा नगरी सम्पूर्ण मतदाताको जीवनस्तर उकास्न सहकारीमार्फत विशेष कार्यक्रम ल्याउने बताएका थिए ।
‘जनतालाई कसरी धनी बनाउने, आर्थिक उपार्जनसँग जोड्ने भन्ने विषयमै मेरो विशेष जोड रहेनछ’ सहकारी अखबारसँग उनले आफ्नो योजना सुनाए, ‘सर्वसाधारणको जीवनस्तर उकास्नका लागि नयाँ कार्यक्रम ल्याउने छु ।’ सबै काम सहकारीसँग जोडेर गर्न सकिने बताउने उनी दिगो विकास गरी नमूनायोग्य वडा बनाउने सकिने विश्वास व्यक्त गर्छन् ।
सहकारीमार्फत सबैलाई उत्पादन र रोजगारीमा जोड्ने सकिने बस्नेतको भनाई छ । ‘सबैलाई उत्पादनमूलक काममा जोडेर आयआर्जन वृद्धि गर्न सकिन्छ’ उनले भने । शिक्षा, यातायात, सञ्चार, पर्यावरणीय क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
राजनीतिक मतभेदको संस्कार बन्द गर्दै सामूहिक भावना अनुरुप अघि बढ्ने उनले बताए । ‘मतदाताको चेतनास्तर वृद्धि गर्दै असल राजनीतिक संस्कार बसाल्न पहल लिने छु’ उनले भने । नेकपा एमालेको सिफारीसमा वडा अध्यक्ष उम्मेदवार बनेका बस्नेत सहकारी अभियान्तासँगै अवकाशप्राप्त शिक्षक पनि हुन् ।
Leave a comment