समस्याग्रस्त महाप्रभु साकोस एकीकरणमा नेफ्स्कूनका नेता साक्षी

समस्याग्रस्त महाप्रभु साकोस एकीकरणमा नेफ्स्कूनका नेता साक्षी :: Sahakari Akhabar

काठमाडौं । दाङको महाप्रभु बचत तथा ऋण सहकारीको एकिकरण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का संचालक पनि सहभागी रहेको पाइएको छ ।

नेफ्स्कूनकै इनोसेसनमा संस्थाको एकिकरण सभा सम्पन्न भएको देखिएको हो । लगातार दुई पटक प्रोबेसन ब्राण्ड पाएको महाप्रभु साकोस मर्ज कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरु दाङ पुगेका थिए । नेफ्स्कूनले महाप्रभुलाई २०७६ र ०७७ मा गुणस्तर सहकारी भनेर प्रोबेसन ब्राण्ड पनि दिएको थियो ।

एकिकरण घोषणा सभा पञ्चेबाजाकासाथ -याली झाँकी गरेर ४ वटा साकोसका अध्यक्षहरुले संयुक्त रुपमा बोकेर ल्याएको तामाको ताउलीमा कोषाध्यक्षहरुले बोकेर ल्याएको तामाको गाग्रीको पानी मंगलधुनका साथ खन्याएर एकिकृत कारोबार शुभारम्भ घोषणा गरेको थियो ।

तर अहिले महाप्रभुको समस्या आएपछि एकीकृत कारोबार हुन सकेको छैन । मर्ज पछि बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक उमेश चौधरीले महाप्रभुलाई अलग गराएर कारोबार मिलाउन थालिएको बताए ।

एकिकृत संस्थाका करिब ५ हजार शेयर सदस्य माझ संयुक्त कारोबार शुभारम्भको घोषणा गरेको नेफ्स्कूनद्धारा सञ्चालित साकोस खबरले लेखेको थियो । गुणस्तरीय सहकारी भन्दै लगातार दुई वर्ष प्रोबेसन ब्राण्ड दिएको महाप्रभु सहकारीको रकम हिनामिना प्रकरण बाहिरिएपछि साकोसको गुणस्तर कार्यक्रममै प्रश्न चिन्ह उठेको छ ।

महाप्रभुसहित चारवटा सहकारी गत पुस २७ गते मर्ज भएका थिए । एकिकरण घोषणा सभामा नेफ्स्कूनका महासचिव दोमोदर अधिकारी विशिष्ठ अतिथि रहेका र कोषाध्यक्ष दिपक पनेरु अतिथिका रुपमा सहभागी रहेको देखिन्छ ।

सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले संस्थाको प्रकाशित समाचारमा प्रतिकृया जनाउँदै, “नेफ्स्कूनले छानबिन गरी यथार्थ बाहिर ल्याएको सुन्न चाहेको” उल्लेख गरेका छन् ।

नेफ्स्कूनका तत्कालिन प्रशासकीय प्रमुख शिव अधिकारीले नेफ्स्कूनको लेखापरीक्षणको विश्वसनीयतामा प्रश्न उठेको बताए । प्रोबेसन ब्राण्डका लागि ३÷३ महिनामा हुने नेफ्स्कूनको लेखा परीक्षण खस्किएको फिल भइरहेको उनले बताए । ‘बदमासी भएको छ, अब नेफ्स्कूनले के गर्छ भन्ने प्रश्न तेर्सिएको छ’ उनले भने ।

सिए राखेर समेत गरेको नेफ्स्कूनको लेखापरीक्षण काम नलाग्ने (लफुंगो) भएको बताए । ‘विभागीय प्रमुख र तत्कालीन प्रमुखरुहरुलाई सिल गरेर भएपनि नेफ्स्कूनले अध्ययन गर्नुपर्छ’ उनले भने, ‘राम्रोसँग सुपरीवेक्षण नभएकाले नै समस्या आएको प्रष्ट देखिएको छ ।’ 

देशभरका थोरै संस्थाले राम्रो काम गरेका छन् । सिष्टम भित्र चलेका पनि छन् । तर धेरै संस्थामा समस्या देखिएको छ । ब्राण्ड दिएको संस्थामा समस्या देखिदा नेफ्स्कूनले अनिवार्य नैतिक जिम्मेवारी लिनुपर्ने उनी ठान्छन् । सहकारी ब्यानरको रङदेखि कर्मचारीको पोशाकसम्म यस्तो, उस्तो भनेर सिकाउने नेफ्स्कूनले संस्थाको खातापाता, आन्तरिक लेखा परीक्षण हेर्न नसक्नु शोभनीय नभएको उनको भनाइ छ ।

नेफ्स्कूनले प्रोबेसन सन् २०१३ देखि सञ्चालन गरेको थियो । सहकारी विभागले समेत प्रमाणीकरण गर्दै आएकोमा पछिल्लो पटक भने विवादित बनेपछि विभाग बाहिरिएको छ । नेफ्स्कूनले अक्कुसँगको सहकार्यमा अन्र्तराष्ट्रियस्तरको एक्सेस ब्राण्ड कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

एक्सेस ब्राण्ड पनि पछिल्लो समयमा विवादित बन्न पुगेको छ । दोलखाको मिलिजुली कालिञ्चोक साकोसको समस्या बाहिरिएपछि एक्ेसस कार्यक्रम विवादित बन्दा अक्कुले विभागीय प्रमुखलाई सरुवा गर्न समेत पत्राचार गरेको थियो । तर नेफ्स्कूनले कसैलाई पनि कारवाही भने गरेको छैन । अहिले अक्कु नेफ्स्कूनसँग आक्रोशित भएको स्रोत बताउँछ ।

पूर्व प्रशासीयक प्रमुख अधिकारी भन्छन्,‘ एक्सेस तथा प्रोबेसनको गुणस्तरमा प्रश्न उठ्यो, नउठ्नुपर्ने हो । नेफ्स्कूनले विनियम संशोधन गरेर आफ्ना सदस्य संस्थाको अनुगमन गर्दै आएको छ । संस्थाको वासलतका आधारमा शुल्क लिएर लेखा परीक्षण गर्ने गरेपनि फितलो हुँदा नेफ्स्कूनका स्तरीकरणका कार्यक्रम माथि शंका उब्जिएको छ ।

स्वनियमनमा बसेका संस्था राम्रा छन् । त्यस्ता सहकारी नेफ्स्कूनमा जान पर्दैन । नेफ्स्कूनले २०७७ मा ४० वटा संस्थालाइ प्रोबेसन ब्राण्डको प्रमाण पत्र दिएको छ । ती मध्ये केही पहिला पनि पाइसकेका र केही नयाँ सहकारी पनि थपिएका छन् ।

५ करोड २७ लाख रकम हिनामिना भएको दाङको महाप्रभुसहित हरियाली, जनजीविका र बिहानी सहकारी तामझामका साथ गत पुस २७ गते एकीकरण भएका थिए । लामो समयदेखि समस्याग्रस्त सहकारीलाई आँखा चिम्लेर ब्राण्ड दिनु र नेफ्स्कूनकै सक्रियतामा मर्ज अभियान चलाउनुले थप प्रश्न उब्जाएको छ ।



Leave a comment