हाइलाइट

किसानलाई एक लिटर दूधमा साढे दुई रुपैयाँ अनुदान

किसानलाई एक लिटर दूधमा साढे दुई रुपैयाँ अनुदान :: Sahakari Akhabar

गोरखा । किसानले एक लिटरमा साढे दुई रुपैयाँका दरले अनुदान पाउने भएका छन् । दैनिक २ सय लिटरसम्म दूध संकलन र बिक्री गर्ने सहकारीमार्फत किसानलाई एक लिटरमा साढे दुई रुपैयाँका दरले अनुदान दिने गरी कार्यक्रम तय भएको हो ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो वर्षबाट दूध उत्पादनको आधारमा किसानलाई अनुदान दिने कार्यक्रम तय गरेको हो । गोरखामा यो कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्ष ४५ लाख रुपैयाँ बजेट परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख इन्द्रबहादुर भट्टले बताए ।

उनले भने, “सञ्चालन मापदण्ड २०७७ अनुसार दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्दै उत्पादन बढाउनका लागि अनुदान कार्यक्रम ल्याइएको हो । अनुदानका लागि दूध उत्पादन सहकारीहरुले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आवेदन दिन सक्नेछन् ।” यसरी आवेदन दिने सहकारी संस्थाले संस्थागत रुपमा दूध बिक्री गरेको हुनुपर्ने र संस्थागत रुपमा बिक्री नगरेको भएमा दूधलाई पश्चराइज तथा सिलबन्दी प्याकेजिङ गरी बिक्री गरेको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

आवेदन दिने सहकारीले दैनिक कम्तिमा २ सय लिटर र वार्षिक कम्तिमा २ सय दिन दूधको कारोबार गरेको हुनुपर्ने मन्त्रालयको दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन मापदण्डमा उल्लेख गरिएको छ । छनौट भएका सहकारीलाई प्रति सहकारी वार्षिक ३ लाख ५० हजार लिटर दूधका लागि अनुदान रकम उपलब्ध गराइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जानकारी दिए ।



Leave a comment