पर्वत । कुश्मा नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि दुई दिने सहकारी व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम दिइएकोे छ ।
कुश्मा नगरपालिकाको आयोजनामा सञ्चालित तालिममा नगरपालिका भित्र रहेका विभिन्न प्रकृतिका सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सहकारी ऐन नियम र सहकारी व्यवसायका बारेमा जानकारी दिई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
तालिम उद्घाटन कार्यक्रम कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले जनताको आर्थिक विकासको अत्यन्तै नजिकको सारथी सहकारी क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन कुश्मा नगरपालिका प्रतिवद्ध रहेको बताइन् । सहकारी अभियानसंगको साझेदारीमा नगरपालिका भित्र क्रियाशिल सहकारीहरुलाई थप व्यवस्थित, पारदर्शी र उत्पादनमुलक क्षेत्रमा लगाउन समन्वय गरिने बताइन् ।
नगपालिकाले पहिलो चरणमा सबै सहकारी संघ संस्थाहरुलाई सहभागी गराई ऐन कानुनका बारेमा जानकारी दिने, उनीहरुको प्रोफाइल प्रकाशन गर्ने र संस्थाहरुले बुझाउन पर्ने कागजातहरु बुझाउनका लागि निर्देशन गर्ने योजना रहेको नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिइन ।
सहकारीमार्फत सदस्यहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि प्रभावकारी सञ्चालन विधी, सदस्यहरुलाई उद्यमशिलतातर्फ अग्रसर गराउने योजना निर्माण लगायतका काममा सहकारीहरुसंग समन्वय गरेर अगाडि बढ्न नगरपालिका तत्पर रहेको उनको भनाइ थियो ।
तालिममा सहकारीको अवधारणा, महत्व, मूल्य मान्यता र सिद्धान्तहरु, सहकारी दर्ता, नियमन, अनुगमन, निरीक्षण, एकीकरण र विघटन, सहकारी ऐन नियमावली, सञ्चालक र व्यवस्थापनको काम कर्तव्य र अधिकार, सहकारीमा जोखिम व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिने नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए ।
Leave a comment