हाइलाइट

साहित्य सिर्जना सहकारी समितिका सस्थापक अध्यक्ष ‘शम’

साहित्य सिर्जना सहकारी समितिका सस्थापक अध्यक्ष  ‘शम’ :: Sahakari Akhabar

पारसमणि शमको जन्म सन् १९८२ जुन ५,मा भारतको सिक्किम राज्यको पूर्व जिल्ला अन्तर्गत मध्य पाण्डाम गाउँमा भएको हो । पेशागत रूपमा पत्रकार रहेका शम सिक्किमका युवा साहित्यिकहरूमा एक चर्चित नाम हुन् ।

२००७ (मा यिनी गान्तोकबाट प्रकाशित हुने दैनिक समाचार पत्र समय दैनिकको सम्पादक बन्न पुगे । साहित्य सिर्जना सहकारी समिति, सिक्किमद्वारा सञ्चालित भारतीय नेपाली साहित्यको पहिलो अनलाइन पत्रिका टिस्टारङ्गीतका उनी सम्पादक सदस्य हुन् भने साहित्य सिर्जना सहकारी समितिका संस्थापक अध्यक्ष पनि रहेका छन ।

शमको विद्यार्थीकालदेखि साहित्यमा विशेष झुकाउ रहेको छ भने १९९७ मा उनले डिल्लीराम दुलाल शमलगायत अन्य केही उत्साहित युवकहरू मिली शम साहित्य संस्थाको स्थापना गरी साहित्यिक गतिविधि अघि बढाए ।

उक्त संस्थाले अग्निशिखा नामक साहित्यिक पत्रिकाको प्रकाशन शमको सम्पादनमा गर्दै आएको छ भने उनी उक्त संस्थाका संस्थापक अध्यक्ष रहेका छन् ।

संस्थाका महासचिव डिल्लीराम दुलाल शमसितको सहयोगितामा उक्त संस्थाले २००३ देखि टीकालाल निरौला शम पुरस्कारको स्थापना गरी हालसम्म तीनजना साहित्यकारलाई प्रदान गरिसकेको छ ।

स्नातकोत्तर नेपालीसम्मको अध्ययन गरेका शमले नेपाली साहित्यको विकासमा स्रष्टा पत्रिकाको योगदान नामक शोध प्रबन्ध तयार गरेका छन् ।

सन् २००३ मा यिनको पहिलो खण्डकाव्य आर्तव प्रकाशित भयो भने २००६ मा यिनको पहिलो उपन्यास लक्ष्यतिर प्रकाशित भएको हो । आर्तव ऋतुहरूमा आधारित खण्डकाव्य हो । यसमा यथार्त प्रकृतिलाई मानवीकरण गरी मानवीय चरित्रको मूल्याङ्कन गरिएको छ ।

लक्ष्यतिर एक प्रयोगवादी आञ्चलिक उपन्यास हो । यसको कथावस्तु सिक्किमको पाण्डाम गाउँ रहे पनि कथाले सम्पूर्ण सिक्किमेली ग्रामीण क्षेत्रको प्रतिनीधित्व गर्दै नाङ्गो प्रस्तुति दिएको छ । यस उपन्यासमा संवादको न्यून प्रयोग छ भने प्रत्येक अध्यायले एक सिङ्गो कथा बोकेका छन् ।



Leave a comment