काठमाडौं । राजविराज सप्तरीको आईडियल बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारण सभाको पहिलो इकाइसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेश कुमार आशको सभापतित्वमा सम्पन्न सभामा अध्यक्ष आशले संचालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले संस्था आज भन्दा २८ वर्ष अगाडि व्यवसायी, शिक्षक, बुद्धिजीवी, समाजसेवी अगुवाहरुको विचार, नेतृत्व र परिकल्पना अनुरुप ४२ जनाले बिऊ पूँजिको रुपमा १ हजारको दरले ४२ हजार रुपैयाँबाट सुरु गरिएको जनाए ।
अहिले संस्थामा १८ हजार ५६२ जना शेयर सदस्य, हरुले चुक्ता शेयर पुँजी १२ करोड ५६ लाख ५१ हजार ६०० रुपैंयाँ र जगेडा कोष १४ करोड २६ लाख ७५ हजार ८७७ रुपैंयाँ रहेको जनाए । त्यसैगरी उनले कूल बचत १ अर्ब १९ करोड ६० लाख ४७ हजार ८४१ रुपैंयाँ तथा कुल ऋण लगानी ७५ करोड ४ लाख ८६ हजार २२३ रुपैंयाँ र कुल सम्पत्ति १ अर्ब ४८ करोड १३ लाख १४ हजार १७७ रहेको सभामा जानकारी दिएका छन्।
उनले सहकारी भनेकै सदस्य भएकोले, सदस्य भए सहकारी रहने बताए । उनले सहकारी बोक्रा भएको र सदस्य गुदी भएको हुँदा सदस्य खुसी हुँदा आफू पनि खुसी हुने बताए । त्यसैले सदस्यहरुको आवश्यकता र बजार अनुरुप सदस्य सेवा सञ्जाल विस्तार गरी सेवाका नयाँ क्षेत्रहरु पहिचान गर्दै निरन्तर प्रगतितर्फ संस्था अघि बढेको जनाए ।
उनले सहकारी ऐन, सहकारी नियमावली, सहकारी मापदण्ड र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका निर्देशन तथा मापदण्डले असल अभ्यासको क्रममा विभिन्न अवसरहरु सिर्जना भए पनि केही चुनौतिहरु थपिएको भन्दै चुनौतिको अर्थपूर्ण समाधानको लागि केन्द्रीय र प्रदेश सहकारी ऐनको संशोधनमा सबै निकायको निर्देशन तथा मापदण्डमा एकरुपता हुनु जरुरी रहेको बताए ।
उनले सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई पूर्ण रुपमा आत्मसात् गरी अगाडि बढेका सहकारीहरुलाई सजिलो वातावरण सिर्जना हुँदा हुँदै पनि सदस्य केन्द्रित नयाँ व्यवसाय गर्न नपाउने प्राबधानले बचत तथा ऋण सहकारीलाई लगानीमा चुनौति थपेको बताए ।
संस्थाले आफ्नौ सम्पूर्ण सेवाहरु द्रुत गतिका साथ सेवा प्रदान गर्न प्रयास गरिरहेका भन्दै केही सहकारीहरुको खराब सुशासनका कारण उत्पन्न परिवेश, राजनीतिक अस्थिरता, व्यापार व्यवसाय संचालनमा मन्दी जस्ता अवस्था हुँदा हुँदै पनि गत वर्ष तर्जुमा गरिएका कार्यक्रमहरु अधिकांश सम्पन्न गरी केही नयाँ कार्यक्रमहरुको थालनी गरिएको जनाए ।
अध्यक्ष आशले आधुनिक प्रविधिको एकीकृत सेवा कार्यक्रम र नवीनतम आधुनिक प्रविधिको प्रयोग, गरिबी निवारणसँग सम्बन्धित एकीकृत साक्षरता कार्यक्रम, सदस्यको उद्यमशीलता विकास, निजी क्षेत्र र सरकारी निकायसँगको सहकार्य, उद्यमशीलता विकास, युवा र महिला केन्द्रित कार्यक्रम, प्रविधि र क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरिने जनाए । संस्थाको समग्र विकासको लागि नीति, विधि र प्रविधिमा विशेष जोड दिइने ,“डिजिटल वित्तीय सहकारी संस्थाको रुपमा स्थापित गर्ने” अभियानको रुपमा अगाडि बढाइने बताए ।
जन्मदेखि स्वर्गसम्मको सदस्य सेवालाई बिभिन्न उमेर समूहमा वर्गीकरण गरी सदस्य स्वागत कार्यक्रम, सुत्केरी भत्ता, बाल बचत खाता खोल्ने कार्यक्रम, स्कुल जाने बाल बचतकर्ता विद्यार्थीहरुलाई आडियलको स्टेशनरी सहित झोला बितरण, बचतकर्ताहरुलाई बर्थडे केक बितरण कार्यक्रम, ऋण बिमा, तालिम, मृतक राहत, स्कुल स्कुलमा आईडियल कार्यक्रम, युवासँग आईडियल साकोस कार्यक्रम, युवा संजाल बिस्तारको कार्यक्रम, अक्षय कोषमा धनराशि बिस्तार कार्यक्रम संचालन गरेकाे जनाए ।
त्मयसैगरी महिला सशक्तिकरण, ज्येष्ट सदस्य सम्मान कार्यक्रम, आईडियल सदस्य सहुलियत स्वास्थ्य सुरक्षा कार्यक्रम, संस्थामा २ वर्ष पूरा गरेको सदस्यलाई आकस्मिक राहत ऋण, कृषि तथा उत्पादन क्षेत्रको प्रवद्र्धन कार्यक्रम, उद्यमशीलताको लागि प्रोत्साहन कार्यक्रम, सामुदायको लागि मेरो योगदान कार्यक्रम, ज्येष्ठ नागरिकलाई आईडियलको टेक्ने लठी र मृतक राहत जस्ता कार्यक्रमहरु मध्ये केहि कार्यक्रमहरु संचालन गर्दै आएको र अधिकांश नयाँ सदस्य सेवा कार्यक्रमहरुलाई यस वर्षको वार्षिक कार्यक्रममा समावेश गरी योजनाबद्ध रुपमा प्रदान गरिने जनाए ।
त्यसैगरी सदस्यहरुलाई डिजिटल माध्यमबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको र थप नयाँ प्रविधिहरुको प्रयोग गर्दै आगामी दिनहरुमा अधि बढ्नुपर्ने बताए । सभामा संस्थाका सचिव शैलेसकुमार चौधरीले गत आर्थिक वर्ष २०८२ / ०८३ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८३ / ०८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रमहरु, कोषाध्यक्ष मञ्जुदेवी शाहले आ.व. २०८२ / ०८३) को वित्तीय प्रगति विवरणको समिक्षा तथा आर्थिक वर्ष २०८३ / ०८४ का लागि प्रस्तावित र आ.व. २०८४ / ०८५को लागि अनुमानित वित्तीय लक्ष्य तथा बजेट प्रस्तुत गरेकी थिइन ।
त्यसैगरी लेखा समितिका संयोजक दिनेशकुमार साहकसेराले लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक प्रतिवेदन, टिप्पणी र सुझाव पेश गरेका थिए । कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत बिनोद कुमार साफीले संचालन गरेका थिए । संस्थाले आज असोज २१ गते हनुमाननगर सेवाकेन्द्रबाट इकाइगत रुपमा सुरु गरेको सभा २२ गते पातो सेवाकेन्द्र, २३ गते राबिराज सेवाकेन्द्र र २६ गते इकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा गर्ने जनाएको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया