काठमाडौं । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक तथा विषयगत केन्द्रीय संघहरूलाई संघिय सहकारी रजिष्ट्रारको कार्यालय नयाँ बानेश्वरले निर्देशन जारी गरेको छ ।
कार्यालयले सहकारी महासंघलगायत सहकारी बैंक तथा विषगत केन्द्रीय संघहरुलाई दोहोरो पद कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो । कार्यालयले दोहोरो पद कार्यान्वयनकालागि असोज २ गते नै निर्देशन जारी गरेको हो ।
जारी निर्देशनमा सहकारी संघ संस्थाले सहकारीका मूल्य, मान्यता, सिद्धान्तको परिपालना नगरेको गुनासो आएपछि निर्देशन जारी गरेको जनाएको छ ।
संघहरुले कानुन कार्यान्वयन गर्ने गराउने र सुशासन प्रवद्र्धन गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भएपनि कानुन आफै मिच्ने कार्य भएको जनाएको छ ।
निर्देशनमा सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा ५ को व्यवस्था विपरीत हुने गरी दोहोरो जिम्मेवारीमा रहेको भन्ने गुनासो र उजुरी आएको र उक्त ब्यवस्था लागुगर्न कार्यालयबाट पटक पटक दोहोरो जिम्मेवारीमा नरहन र रहेको भए तत्काल एक तहबाट राजिनामा दिन दिएको निर्देशनको समेत पालना नभएको पाईएकोले पूनः निर्देशन जारी गरेको जनाएको छ ।
के छ सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ मा
सहकारीमा दोहोरो पद बर्जित भएको ९ वर्ष भयो । सहकारी ऐन ०७४ले नै सहकारीमा दोहोरो पद निषेध गरेको थियो । सहकारी ऐन, २०७४ को दफा ४१ को (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था गरेको छ ।
त्यसैगरी सोही ऐनको दफा ४४ को (१) को खण्ड (ग) मा कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन सक्ने छैन भन्ने ब्यवस्था गरेको छ ।
तर सहकारी ऐनमा भएको उक्त ब्यवस्थालाई सहकारीका संचालकले वेवास्ता गरेपछि तत्कालिन सहकारी विभागले कार्यान्वयनकालागि भन्दै एकदर्जन पटक भन्दाबढी निर्देशन र परिपत्र जारी गरिसक्यो ।
तर कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने हिम्मत भने गरेको छैन । बाराम्बार ‘कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने’ ब्यवस्था कार्यान्वयनका लागि निर्देशन मात्र जारीगरी गर्दै आएको छ ।
तत्कालिन सहकारी विभागले २०८१ साल असार १९ गते पहिलो पटक दोहोरो पद कार्यान्वयनकालागि निर्देशन जारी गरेको थियो । त्यसैगरी २०८१ साल साउन १७ गते पूनः निर्देशन जारी गर्यो ।
विभागले २०८२ साल असार ३२ गते सहकारी संघ संस्थामा सुशासन प्रवर्धनको लागि जारी गरिएको १०२ बुंदे एकिकृत निर्देशनको १६ नम्बर बुदामा पनि उक्त कुरा उल्लेख गरिएको छ ।
विभागले पून मंसिर २२ गते दोहोरो पद कार्यन्वयनकोलागि ‘कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने’ ब्यवस्था कार्यान्वयनका लागि भन्दै निर्देशन जारी गर्यो । राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकको निर्देशनमा पनि सहकारीमा दोहोरो पद कार्यान्वयनकालागि भनिएको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणवाट २०८२ साल जेठ ९ गते जारी भएको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको सञ्चालन सम्वन्धमा जारी गरिएको नियामकिय मापदण्ड, २०८२ को परिच्छेद ७ को बुँदा (४) र नेपाल राष्ट्र बैंकबाट २०८१ साल चैत ४ गते जारी भएको बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड, २०८१ को परिच्छेद ७ को बुँदा (४) उक्त ब्यवस्था कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया (३)
तपाईंको प्रतिक्रिया