हाइलाइट

ज्योति मिर्मिरे सामूहिक साकोसको २७औं वार्षिक साधारण सभा सम्पन्न 

ज्योति मिर्मिरे सामूहिक साकोसको २७औं वार्षिक साधारण सभा सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्तिक २६ गतेदेखि विभिन्न ६ वटा एकाई केन्द्रहरूबाट सुरु भएको एकाइ साधारण सभा ३० गते मुख्य कार्यालयमा निर्णय प्रमाणीकरण सभा सम्पनन भएको थियो ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिको तर्फबाट सचिव बुद्ध सिंह थापाले वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम, कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन तथा वार्षिक बजेट तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समितिका संयोजक भिमसेन केसीले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थामा कुल शेयर सदस्य २१ हजार ९९१ र २ हजार ३६० बाल बचतकर्ता गरी जम्मा २४ हजार ३५१ जना सदस्य आबद्ध रहेको जनाइएको थियो ।

आर्थिक वर्ष २०८२ / ०८३ को अन्त्यसम्ममा संस्थाको कुल शेयर पूँजी ११ करोड २७ लाख ७५ हजार ३ सय, कुल बचत निक्षेप १ अर्ब २१ करोड ४२ लाख ३७ हजार ३ सय ३६ रुपैयाँ रहेको सभामा जानकारी गराइएको थियो । त्यसैगरी संस्थाले कुल ऋण लगानी १ अर्ब १२ लाख ३४ हजार ५ सय १९ रुपैयाँ पुगेको जनाइएको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको रूपमा सञ्चालन इजाजतपत्र प्राप्त गरिसकेको यस संस्थाले मोबाइल बैंकिङ, डिजिटल क्यूआर कोड, एसएमएस तथा ट्याब बैंकिङ जस्ता अत्याधुनिक प्रविधिमैत्री सेवा विस्तार गरी सदस्यहरूलाई घरदैलोबाटै नगदरहित कारोबारको सुविधा प्रदान गर्दै आएको छ । संस्थाले काभ्रे जिल्लाका ११ स्थानीय तहमा ८ वटा सदस्य सेवाकेन्द्रमार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको छ।

वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै प्राथमिकतामा राखेको संस्थाले “कोखदेखि शोकसम्म ज्योमिसा” भन्ने नारालाई सार्थक बनाउँदै समिक्षा वर्षमा स्वास्थ्य उपचार राहत, सदस्य तथा एकाघर परिवार मृत्यु राहत, गर्भवती पोषण सहयोग, जेष्ठ नागरिक तथा अपाङ्ग सदस्य भत्ता, बालबालिका जन्मोत्सव र प्राकृतिक प्रकोप पीडित राहत गरी विभिन्न ८ शीर्षकमा कुल ४० लाख ५२ हजार बराबरको सहयोग वितरण गरेको सभामा जानकारी गराइएको छ ।

आगामी आर्थिक वर्ष २०८३ / ०८४ मा कम्तिमा ६० प्रतिशत सदस्यलाई समेट्दै “वित्तीय साक्षरता वर्ष” मनाउने, युवा केन्द्रित स्टार्ट–अप तथा उद्यमशीलता प्रवद्र्धन गर्ने, विद्यालय तहसम्म नैतिक तथा सहकारी शिक्षा विस्तार गर्ने र सम्पूर्ण कारोबारलाई पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने योजनासहित सभाले प्रस्तुत सम्पूर्ण प्रतिवेदन तथा प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको थियो ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000