काठमाडौं । काभ्रेको बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्थाले ३३औं वार्षिक साधारण सभा सातवटा ईकाइमा सम्पन्न गरेको छ । संस्थाले गत असोज १६ गतेदेखि १८ गतेसम्म तीनदिन साधारण सभाको कार्यक्रम संचालन गरेको थियो ।
बनेपा, भकुण्डे र खोपासीमा भएको सभामा अध्यक्ष शान्तकुमार श्रेष्ठले, बानेश्वर र ढुर्खकमा भएको सभामा उपाध्यक्ष रामहरी शर्मा तिमल्सिनाले र पाँचखालमा भएको सभामा सचिव डोरेन्द्रराज सापकोटाले अध्यक्षता गरेका थिए । सभाले पुनः शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति र रामकुमार श्रेष्ठको संयोजकत्वमा तीनसदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ।
संचालक समितिको उपाध्यक्षमा केशव थापा, सचिवमा भिमबहादुर खत्री, कोषाध्यक्षमा गणेशप्रसाद पराजुली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा लोकदर्शन कर्माचाय, बुद्धिमाया लामा, सुनिता धिताल पौडेल, पुष्पा खड्का बस्नेत र रामशरण श्रेष्ठ रहेका छन् भने लेखा समितिको सदस्यमा विदुर थापा र सिद्धिलक्ष्मी पोटे चयन भएका छन् ।
संस्थाले असोज २१ गते साधारण सभाबाट छानिएका प्रतिनिधिहरुलाई सहभागी गराई अन्तिम निर्णय प्रमाणिकरण सभा तथा नव निर्वाचित संचालक र लेखा समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम राखेको छ । कार्यक्रमको उद्घाटन संस्थापक अध्यक्ष भरतप्रसाद शर्मा र सल्लाहकार एवं निवर्तमान अध्यक्ष प्रदिप थापाले गरेका थिए ।
संस्थाले सहकारी विभागको निर्देशानुसार कुनै पनि सभामा बाह्य अतिथि नबोलाई सदस्य केन्द्रित रही सभा संचालन गरेको जनाएको छ । साधारण सभाको सातवटै ईकाइ सभा सचिव डोरेन्द्रराज सापकोटाले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भिमबहादुर खत्रीको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति र बाह्य लेखापरीक्षकको प्रतिवेदन सर्व सम्मत पारित भएको जनाएको छ ।
कार्यक्रममा संस्थाको एकमुष्ट प्रगति र भावी योजना प्रमुख कार्यकारी अधिकृत केबी लामा स्यांङतान्, नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे र विभागीय प्रमुख अमित राजकर्णिकारले प्रस्तुत गरेका थिए । बनेपा सेवा कार्यालयका मित्र प्रसाद दाहाल, पनौतीको रामचन्द्र थापा, पाँचखालको सुरज अधिकारी, ढुखर्कको अनिल पहरी, खोपासीको राजेश कार्की, बानेश्वरको बलराम अधिकारी र भकुण्डेको प्रविण धितालले आआफ्नो कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा हाल २६ सय ४८ वटा विभिन्न समुहमा ६१ हजार ३२६ जना शेयर सदस्य र १२ हजार ६०६जना बाल वचतकर्ता गरि जम्मा ७३ हजार ९३२ जना सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको शेयर पुँजी ५३ कारोड ५९ लाख ३९ हजार कुल बचत ४ अर्व ३९ करोड ७४ लाख, ऋण लगानी ३ अर्व ५९ करोड १९ लाख जगेडा कोष ४१ करोड १७ लाख ५७ हजार भई कुल कुल सम्पत्ति ५अर्व ७३ करोड ३७ लाख २७ हजार पुगेको छ ।
संस्थाले यस वर्षको साधारण सभामा ७ सयभन्दा बढी जेष्ठ सदस्यलाई सम्मान गरेको छ भने जेष्ठ सदस्य भत्ता, एक सय ३३ जनालाई अपांग सदस्यलाई सम्मान र भत्ता वितरण गरेको थियो । सभाले प्रत्येक सेवा कार्यालयका उत्कृष्ठ बचतकर्ता, अधिकतम शेयर खरिद कर्ता, उत्कृष्ट शैक्षिक बाल बचतकर्ता र उत्कृष्ट लघुवित्त समुहलाई सम्मानित तथा पुरस्कृत गरेको थियो ।
साधारण सभामा शेयर सदस्यका छोराछारी मध्ये गत एसईई परीक्षा २०८२ मा उत्कृष्ठ जिपिए ल्याउने ७ जना विद्यार्थीलाई चाँदीको तक्मा प्रशंसा पत्र र नगदबाट सम्मान गरेको छ भने अन्य १ सय ८९ जनालाई विद्यार्थीहरुलाई प्रंशसा पत्र र मायाको चिनो प्रदान गरेको थियो ।
संस्थाले साधारण सभाको अवसरमा सभा स्थलमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क दन्त परीक्षण शिविर र रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो भने बानेश्वर सेवाकार्यालयको सभामा शेयर सदस्य भोलाप्रसाद अधिकारीको निधन भएकोमा उहाँको परिवारलाई २० लाख ३० हजार वीमा रकम भुक्तानी गरिएको जनाएको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया