काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको ग्रामिण बाल्मिकी बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा आइतबारदेखि इकाईगत रूपमा सुरु भएको छ । असोज १८ गते आइतबार दाउन्नेदेवी सेवाकेन्द्र इकाई एकको साधारण सभा बर्दघाट स्थित क्षेत्री समाजको सभाहलमा सम्पन्न भएको ।
प्रत्येक सेवाकेन्द्रमा इकाईगत साधारण सभा सम्पन्न गर्दै आगामी असोज २४ गते संस्थाको केन्द्रीय कार्यालयमा ३३ औँ वार्षिक साधारण सभाको पूर्ण बैठक सम्पन्न गरिने जनाएको छ । संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष हमालले धेरै चुनौतीका बाबजुद पनि योवर्ष सेयर सदस्यहरूलाई लाभांश वितरण गर्न पाउँदा खुसी लागेको बताए ।
उनले सेयर सदस्यहरूलाई प्रत्यक्ष लाभपुग्ने गरी गम्भिर प्रकृतिका रोगहरू (कैन्सर, मृगौला फेल मुटुको शल्यक्रिया), मृत्यु, सुत्केरी भेटघाट तथा गम्भीर दुर्घटनामा परेका सदस्यहरूलाई ५ हजारदेखि ५० हजारसम्म आर्थिक सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराए ।
कार्यक्रममा संस्थाकी सचिव राधा ढकालले गत आर्थिक वर्ष २०८२ / ०८३ को प्रगति विवरण चालु आर्थिक वर्षको प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सभामा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहसचिव कृष्णप्रसाद गौतमले संस्थाको कुल १ अर्ब २२ करोड ४३ लाख ७९ हजार ७ सय ११ बराबरको आय व्यय विवरण सार्वजनिक गरेका थिए ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८२ / ०८३ मा ८ करोड ५९ लाख ३१ हजार ३ सय १८ कुल आम्दानी र ७ करोड १५ लाख २८ हजार ५ सय ५२ खर्च गरी १ करोड ४४ लाख २ हजार ७ सय ६५ सञ्चालन मुनाफा आर्जन गरेको जनाएको छ । यसैगरी, ऋण सुरक्षण कोषमा ४४ लाख ४२ हजार ९ सय खर्चभई संस्थाले ९९ लाख ५९ हजार ८ सय ६३ खुद नाफा कमाएको जनाइएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक भानुभक्त ढकालले प्रस्तुत गरेका थिए ।
संस्थाका सल्लाहकारहरू वसन्तकुमार रेग्मी र कृष्णहरि पौडेलले शुभकामना मन्तव्य राखेका थिए भने सेयर सदस्यहरूले आफ्ना जिज्ञासा तथा सुझावहरू प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा संस्थाका उत्कृष्ट सेयर सदस्य, बचतकर्ता, व्यवसायी, बाल सदस्य र ज्येष्ठ सदस्य गरी ५ जनालाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको थियो ।
पश्चिम नवलपरासी जिल्लाभर कार्यक्षेत्र रही बर्दघाट ७ मा केन्द्रीय कार्यालय रहेको संस्थामा ६ हजार ९ सय ६९ महिला, ५ हजार १६ पुरुष र २ संस्थागत गरी कुल ११ हजार ९ सय ८७ जना सेयर सदस्य तथा २ हजार ३ सय २ जना बाल सदस्य आवद्ध रहेका छन् ।
संस्थाले हाल बर्दघाट सेवाकेन्द्र, दाउन्नेदेवी सेवाकेन्द्र, उदय मिरमिरे सेवाकेन्द्र, स्वर्णिम सेवाकेन्द्र, बाल्मिकी सेवाकेन्द्र र केन्द्रीय कार्यालय गरी ६ स्थानबाट सेवाप्रवाह गरिरहेको व्यवस्थापक अनन्त पाण्डेले जानकारी दिए । संस्थाका उपाध्यक्ष लक्ष्मणप्रसाद ज्ञवालीको स्वागत मन्तव्य रोखेका थिए भने कार्यक्रम सचिव राधा ढकालले संचालन गरेकी थिइन् ।
Leave a comment