हाइलाइट

काभ्रे जिल्ला सहकारी संघको ४५औँ साधारण सभा सम्पन्न

काभ्रे जिल्ला सहकारी संघको ४५औँ साधारण सभा सम्पन्न :: Sahakari Akhabar

बनेपा । जिल्ला सहकारी संघ लि। काभ्रेपलाञ्चोकले आफ्नो ४५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार बनेपा–७ स्थित संघको भवनमा सम्पन्न साधारण सभामा संघको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी नीति तथा कार्यक्रम र सहकारी क्षेत्रको समसामयिक विषयमा छलफल गरिएको छ ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, पूर्वअध्यक्ष, विषयगत सहकारी संघका अध्यक्ष तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तथा पूर्वअध्यक्ष, सञ्चारकर्मी, सदस्य संघ–संस्थाका प्रतिनिधि, विभिन्न उपसमितिका सदस्य र कर्मचारीहरूको सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघले पछिल्लो समय सञ्चालन गरेका गतिविधि र आगामी योजनाबारे जानकारी दिँदै सहकारी क्षेत्रलाई समयअनुकूल बनाउन प्रविधिको प्रयोग र कार्यसम्पादनमा मितव्ययितालाई प्राथमिकता दिइएको बताए ।

उनले सहकारी संस्थाहरूले सदस्यको आवश्यकता र हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै बचत तथा ऋण कारोबारमा मात्र केन्द्रित नभई उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग सहकारीलाई जोड्नुपर्ने बताए । आगामी दिनमा संघ–संस्थाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिइने उनको भनाइ थियो ।

सभामा सचिव प्रकाश बञ्जाराले आव २०८२ / ८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संघले वर्षभरि सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिका साथै आगामी आव २०८३ / ८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले आव २०८२ / ८३ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि अनुमानित आय–व्यय तथा प्रस्तावित कार्यक्रम समेटिएको बजेटसमेत सभामा पेस गरे । लेखा सुपरिवेक्षण समितिका सदस्य पवनराज कर्णजीतले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पाँच विधामा पुरस्कार

साधारण सभामा सहकारी अभियान तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र उत्कृष्ट कार्यसम्पादन गर्ने सहकारी संस्था तथा कर्मचारीलाई सम्मान गरिएको थियो । सहकारी पत्रकारिता पुरस्कार–२०८३ पत्रकार मोतीराम तिमल्सिनालाई प्रदान गरिएको छ ।

त्यसैगरी कृषि विधातर्फको सहकारी व्यवसाय पुरस्कार–२०८३ प्रतिष्ठा कृषि सहकारी संस्था पाँचखाल, बहुउद्देश्यीय विधातर्फको सहकारी व्यवसाय पुरस्कार–२०८३ सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था पनौती, सहकारी सर्वोत्कृष्ट कर्मचारी पुरस्कार–२०८३ लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था पनौतीका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी तथा असल ऋणी संस्था पुरस्कार तथा सम्मान–२०८३ नमस्ते कृषि सहकारी संस्था धुलिखेललाई प्रदान गरिएको छ ।

४५औँ साधारण सभाले संघको वार्षिक गतिविधि तथा आर्थिक अवस्थाको समीक्षा गर्दै आगामी कार्यदिशामा प्रविधिमैत्री सेवा, मितव्ययी व्यवस्थापन, सदस्यकेन्द्रित गतिविधि तथा उत्पादनमुखी सहकारी अभियानलाई प्राथमिकताका साथ अघि बढाउने विषयलाई जोड दिएको छ ।



Leave a comment