काठमाडौं । भक्तपुरको सूर्यविनायकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साभारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न साधारण सभाको संस्थाकी ८८ बर्षीय जेष्ठ सदस्य मैयाँ सुजखुले उद्घाटन गरेकी थिइन ।
सभाले आर्थिक बर्ष २०८२ / ८३ को वार्षिक प्रगति प्रतविदेन तथा आगामी बर्षको नीति तथा कार्यक्रम, आर्थिक प्रतिवदेन तथा आगामी बर्षको अनुमानित बजेट, आन्तरिक लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । त्यसैगरी सभाले गत आर्थिक बर्षको नाफाबाट सदस्यहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा जेष्ठ सदस्य,असल बचतकर्ता, असल ऋणी, विद्यार्थी तथा संस्थामा लामो समय काम गरेका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । साधारण सभामा ७० प्रतिशत सदस्यको उपस्थिति रहेको प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले जानकारी दिइन् ।
सभामा अध्यक्ष कासुलाले २०५७ सालमा ७५ जना स्थानीय युवा मिलेर स्थापना भएको संस्थाले हालसम्म आइपुग्दा सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा निरन्तर क्रियाशील रहेको जनाए ।
संचालक समितिले सदस्यको बचतको सुरक्षालाई मुख्य ध्यान दिएको र कर्जा लगानी गर्दा प्रयाप्त धितो, परियोजनाको सम्भाव्यता र प्रतिफल दिने क्षेत्रमा मात्र लगानी गदै आएको अध्यक्ष कासुलाले सभामा जानकारी दिए । आगामी बर्षहरुमा संस्थाको सेवालाई अझ आधुनिक र प्रविधिमैत्री बनाई सदस्यहरुलाई मोबाइल बैकिङ्ग तथा अनलाइन भुक्तानी सेवालाई थप प्रभावकारी बनाउने बताए ।
स्थानीयस्तरमा उद्यमशीलताको प्रवद्र्धन गर्न उत्पादनमूूलक तथा प्रतिफल दिने क्षेत्रमा कर्जा परिचालन गर्ने लक्ष्य लिएको उनले सभामा जनाए । संस्थाले बचत तथा ऋणको परिचालनसँगै सदस्यको हित तथा सामाजिक कार्यमा समेत आफ्नो उपस्थिति जनाउँदै आएको अध्यक्ष कासुलाको भनाई छ ।
सभामा सचिव पुष्पलाल तिमिलाले आव २०८२ / ८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले यस आर्थिक बर्षमा ७ प्रतशित सदस्यता वृद्धि गर्ने, सदस्यहरुको आर्थिक सहभागिता वृद्धि गरी संस्थागत दिगोपन विकास गर्ने,जगेडा कोषलाई वृद्धि गर्ने तथा भाखा नाघेको ऋणको लागि पर्याप्त जोखिम कोषको व्यवस्था गर्ने सभामा बताए ।
त्यसैगरी उत्पादनशील क्षेत्रमा ७० प्रतिशत ऋण लगानी गर्ने र ऋण लगानीमा धितो सुरक्षणलाई अनिवार्य गर्ने, समुह बचत मार्फत लघुऋण परिचालन गर्ने तथा ‘सन्तुष्ट सदस्यः दीगो संस्था’ भन्ने भावनालई व्यवहारिक रुप दिने उनले जानकारी दिए ।
सभामा कोषाध्यक्ष धर्मरत्न शाक्यले आर्थिक प्रतिवेदन तथा चालु आवको अनुमानित बजेट प्रस्तुत गरेका थिए । संस्थाले गत असार मसान्तसम्म शेयर पुँजी ११ करोड ९४ लाख ६४ हजार,जगेडा तथा अन्य कोष १७ करोड ७९ लाख ७५ हजार, बचत १ अर्ब ५१ करोड ७२ लाख, ऋण लगानी १ अर्ब १७ करोड ७३ लाख गरी कुल सम्पत्ति १ अर्ब ९५ करोड १८ लाख पुगेको सभामा उनले जानकारी दिए ।
Leave a comment