हाइलाइट

जिल्ला सहकारी संघ काभ्रेद्धारा रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ काभ्रेद्धारा रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेले बृहत रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । संघले धुलिखेल नगरपालिका–५ स्थित श्रीखण्डपुर चोकमा बृहत रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

मानवीय सेवाका लागि रक्तदान गर्ने संस्कारको विकास, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि तथा सर्वसाधारणलाई आधारभूत स्वास्थ्य परिक्षणको सहज पहुँच पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो ।

जिल्ला सहकारी संघको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामुदायिक विकास तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

संघले आफ्नो नियमित संस्थागत गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा ६२ जना रक्तदाताले रक्तदान गरेका थिए भने ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य शिविरमा सुगर, प्रेसरलगायतका स्वास्थ्य परीक्षणका साथै निःशुल्क स्किन टेस्ट तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको थियो ।

स्वास्थ्यसम्बन्धी सामान्य समस्या पहिचान तथा आवश्यक परामर्श प्राप्त गर्न पाउँदा स्थानीयवासी तथा कार्यक्रममा सहभागी सर्वसाधारण लाभान्वित भएका थिए ।

रक्तदान गर्ने रक्तदाताहरूलाई संघको तर्फबाट मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र बनेपा हेल्थ केयरको प्राविधिक सहयोग रहेको थियो । लायन्स क्लब अफ श्रीखण्डपुरले कार्यक्रमको संयोजन गरेको थियो भने रोटरी क्लब अफ पनौती विशेष सहयोगीका रूपमा रहेको थियो ।

त्यस्तै, कार्यक्रम सफल बनाउन ब्लोदान काभ्रे, काभ्रे महिला उद्यमी मञ्च, सौन्दर्य कला व्यवसायी संघ काभ्रे, कस्मेटिक व्यवसाय संघ काभ्रे, बृहत बहुउद्देश्यीय सहकारी संस्था, लक्ष्मी महिला साकोस, सनलाइट साकोस, रोटरी क्लब अफ धुलिखेल, लायन्स क्लब अफ काठमाडौं, पूर्व क्षितिज काभ्रे, लायन्स क्लब अफ काभ्रे बनेपा, लायन्स क्लब अफ पनौती, लायन्स क्लब अफ बनेपा सिटी, लायन्स क्लब अफ बनेपा भ्याली, काभ्रे लेडिज जेसिज, हलि नेवा गुठी काभ्रे मिसा कचा लगायतका संघसंस्था तथा सामाजिक क्षेत्रका संस्थाहरूको सहयोग र सहभागिता रहेको थियो ।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति विशेष धन्यवाद व्यक्त गर्दैरक्तदाता, स्वास्थ्यकर्मी, प्राविधिक टोली, स्वयंसेवक, सहकार्य गर्ने विभिन्न संघसंस्था तथा स्थानीय समुदायको सहभागिताले कार्यक्रम सफल भएको बताए ।

अध्यक्ष श्रेष्ठले संघले सामाजिक उत्तरदायित्वलाई औपचारिकतामा मात्र सीमित नराखी समुदायको वास्तविक आवश्यकता पहिचान गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै जाने बताए ।

संघका कामु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले संघको भूमिका सहकारी क्षेत्रको संस्थागत विकास र प्रवद्र्धनमा मात्र सीमित नरहेको बताए ।

संघले आफ्नो कार्यक्षेत्रभित्र सामाजिक सरोकारका विषयलाई समेत प्राथमिकतामा राख्दै समुदायसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

श्रेष्ठले रक्तदान र स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमले एकैपटक मानवीय सेवा र स्वास्थ्य सचेतना प्रवद्र्धनमा सहयोग पुर्‍याउने बताए । कार्यक्रमका संयोजक पूर्ण सागर रञ्जितले संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले समुदायको आवश्यकता र स्थानीय प्राथमिकताका आधारमा स्वास्थ्य, शिक्षा, वातावरण, मानवीय सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै कार्यक्रमको दायरा विस्तार गरिने जानकारी दिए ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000