हाइलाइट

सहकारी पिडितको तेस्रोचरणको आन्दोलन घोषणा

सहकारी पिडितको तेस्रोचरणको आन्दोलन घोषणा :: Sahakari Akhabar

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो ।

महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए । जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने उनले बताए । ‘११ गते ११ बजे माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौ, र्याली गर्छौ । र्यालीपछि कोणसभा गरेर रिले अनशन सुरु गर्छौ’– उनले भने ।

सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले जनाए । सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनमा सहभागी हुन उनको आग्रह छ ।

आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको बताए । उनले हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको बताए ।

तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको बताए । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहकारी पीडितको पक्षमा गम्भीर बनिदिन आग्रह गरे ।

‘हामीले योभन्दा अगाडि मन्त्री रञ्जिता श्रेष्ठ, मन्त्री बलराम अधिकारीसँग सम्झौता गर्यौ । तर, कसैलेपनि हाम्रो माग पूरा गरेनन् । हाम्रो माग पूरा भएकै छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू हामीलाई न्याय चाहियो,’–उनले भने ।

सहकारी पीडितहरुले न्याय नपाए आगामी ०८४ को निर्वाचन हुन नसक्ने उनको भनाइ छ । उनले न्याय नपाए देशभरका सहकारी पीडितहरुले चुनाव बहिस्कार गर्ने बताए । ‘तपाईँहरु मिसन ०८४ भन्नुुस् । हामी मिसन ०८४ बहिस्कार गर्न अगाडि बढ्दैछौं ।

सहकारी पीडितको माग पूरा भएन भने ०८४ मा तपाईँहरुको लेभल पनि हाम्रो लेभलमा आउँछ । त्यतिखेर हामी देखाउँछौं जनताको तागत,’– उनले भने, ‘हामीहरुले घर–घरबाट तपाईँहरुलाई लखेट्छौं, सहकारी पीडितले न्याय पाएनन् भने ०८४ मा चुनाव हुँदैन ।’

साथै, अध्यक्ष केसीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने आफूहरुलाई सह्य नहुने चेतावनी दिए । ‘सहकारी पीडितको आवाज उठाएकै भरमा पक्राउ गरिएको हो भने हामी घोर भत्र्सना गर्छौं । तर, कसैलाई गल्ती गरेको हो भने छुटकारा पाउन हुँदैन,’– उनले भने ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरुषोतम कार्की, कोषाध्यक्ष देवकुमार श्रेष्ठ वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलगायतले सरकारले सहकारी पीडितको पक्षमा काम गर्न नसकेको बताए । उनीहरुले अब सशक्त आन्दोलनमा होमिनुको विकल्प नरहेको बताए । सबै सहकारी पीडितलाई उक्त आन्दोलनमा होमिन उनीहरुले आग्रह गरे ।



Leave a comment