काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजतपत्र खारेज गरेको छ । संस्थाले कानुन अनुसार पेश गर्नुपर्ने विवरण दाखिला नगरेका कारण उनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।
महानगरपालिकाले सूचना जारी गरी उक्त संस्था खारेजी गरेको जनाएको छ । साथै अबदेखि उक्त संस्थाहरुको नामबाट कुनै पनि काम नगर्न नगराउन समेत महानगरले अनुरोध गरेको छ ।
महानगरपालिकाले खारेज गरेको सहकारीहरुमा महिला सिप विकस बहुउद्देश्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रिन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी रहेका छन् ।
त्यसैगरी पारषीदेवी महिला विकास बचत तथा ऋण सहकारी, राजवृक्ष जडिबुटी सहकारी, एभरेष्ट कृषी सहकारी, रातो सूर्य सूचना तथा संचार सहकारी र भुगेश्वर उपभोक्ता सहरकारी पनि महानगरले खारेज गरेको छ ।
ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र संस्थाले साधारणसभा बोलाउनुपर्ने, सोही अवधिमा संस्थाको कारोबारको लेखापरिक्षण गरी विवरण बुझाउनुपर्नेमा ५ वर्ष भन्दा बढि अवधिदेखि संस्थाहरुले विवरण नबुझाएकोले महानगरले ती संस्था खारेज गरेको जनाएको छ ।
महानगरपालिकाले कारवाहीमा परेका संस्थाहरुलाई पटक पटक सूचना जारी गरी कानुनले तोके बमोजिमका कार्यहरु सम्पन्न गर्न अनरोध गर्दा समेत अटेर गरेकाले कारवाही गर्नुपरेको महानगरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दर्ता खारेजीमा परेका संस्थाहरुले तिर्नु बुझाउनुपर्ने कुनै दायित्व भए सम्बन्धीत व्यक्तिले प्रमाणसहित साविकका सञ्चालक समितिका पदाधिकारीसँग सम्पर्क गरी फरफारक गर्न समेत महानगरले सूचना जारी गर्दै जानकारी गराएको छ।

प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया