काठमाडौं । सहकारीका अभियन्ताहरुले आफुहरु स्वयंसेवकका रुपमा अभियानमा सक्रिय रहेको दावी गरेपनि विभिन्न भत्तामार्फत लाखौं रुपैयाँ लिने गरेका छन् । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) ले संचालकहरुलाई बैठक भत्तादेखि पोशाकको सुविधासम्म दिएको पाइएको छ।
संघको १९ औं वार्षिक साधारणसभामा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन अनुसार संघले संचालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरुलाई प्रति बैठक तीन हजार रुपैयाँ भत्ता दिने गरेको छ । यस्तै उपसमितिका सदस्यहरुलाई पनि संघले प्रति बैठक एक हजार २५० रुपैयाँ भत्ता दिने गरेको छ । संघले बैठक भत्तावापत गत आर्थिक वर्षमा कूल ६ लाख ८५ हजार २५० रुपैयाँ खर्च गरेको लेखा समितिले जनाएको छ ।
यसैगरी संघले संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई भने बैठक भत्ताको अतिरिक्त संचार सुविधाका नाममा मासिक रकम समेत उपलब्ध गराउने गरेको छ । संघका अध्यक्षलाई मासिक ७ हजार ५ सय, कोषाध्यक्षलाई ५ हजार रुपैयाँका दरले मासिक संचार सुविधा उपलब्ध गराउदै आएको संघले जनाएको छ । संघले गत वर्ष नै संचालक समिति र लेखा सुपरिवक्षण समितिलाई पोशाक सुविधा समेत उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ।
कास्कूनले मुख्य कार्यालयका अतिरिक्त तीन वटा सेवाकेन्द्र खोलेर सहकारी संस्थाबीच बचत तथा ऋणको काम गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷०७९ सम्ममा संघले ७ करोड ८३ लाख रुपैयाँ सेयर, ९० करोड ७० लाख बचत र ६५ करोड ९१ लाख रुपैयाँ ऋण लगानीमा रहेको जनाएको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया