काठमाडौं । गैँडाकोट ८, नवलपुरस्थित किसान बचत तथा ऋण सहकारी संस्थाको ३१औँ वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न भएको छ । एकाइगत सभा सम्पन्न गरेको संस्थाले निर्णय प्रमाणीकरण सभा असोज २४ गते सम्पन्न गरेको हो । सभामा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सहकारी क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण प्रदान गरेका थिए । अर्याल सहकारी प्रशिक्षण केन्द्रका पूर्व प्राचार्य समेत हुन् ।
सभामा गतआर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरु विन्दु गिरी, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक तथा सदस्य र प्रथम, द्वितीय एवं तृतीय स्थान हासिल गर्ने सेवाकेन्द्रका व्यवस्थापन उपसमिति तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन र उत्कृष्ट योगदानको पहिचानले सेवाको गुणस्तर सुधार, जिम्मेवारीप्रतिको प्रतिबद्धता र संस्थागत कार्यसंस्कृति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा संस्थाले गरेको छ । कार्यक्रममा गैँडाकोट नगरपालिका–८ का वडाध्यक्ष प्रेम सापकोटाले कार्यक्रमको स्वामित्व ग्रहण गर्दै उत्प्रेरणा प्रदान गरेका थिए ।
सभामा संस्थाका पूर्वअध्यक्ष एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक सदस्य गोपालप्रसाद गौतम तथा पूर्वअध्यक्ष एवं जिल्ला सहकारी संघ, नवलपुरका अध्यक्ष तिलक पराजुलीलगायत सहकारी क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम तयारी उपसमिति, एकाइ सभा व्यवस्थापन कार्यदल, विभिन्न उपसमितिका संयोजक तथा सदस्य, सल्लाहकार, व्यवस्थापनका विभिन्न तहमा कार्यरत कर्मचारी, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिहरुको सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत सञ्जय तिमिल्सेनाले जनाएका छन् ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया