काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले राज्यले सहकारी ऐनमा भएको व्यवस्था भन्दाबढी आयकर उठाएको बताएका छन् । उनले सहकारी संस्थामा आयकर ऐन आउनुभन्दा पूर्व कर तिर्न नपर्ने ब्यवस्था भएको भन्दै सामुदायीक सदस्य केन्द्रीत सहकारीलाई पूर्ण कर छुटको ब्यवस्था हुनुपर्ने बताएका हुन् ।
उनले केही सहकारीले सहकारीको नाममा व्यक्तिगत फाइदा लिने विकृतीले गर्दा राज्यले सहकारी ऐन २०७४ मा भएको व्यवस्था भन्दा पनि बढी आयकर उठाएको बताए । यसैगरी उनले सहकारी क्षेत्रमा देखापरेका समस्या समाधान कार्यदलले दिएका सुझावहरु कार्यान्वयनमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।
उनले सहकारीको नाममा बचत दुरुपयोग एवं बदमासी गर्नेहरुलाई कार्वाही गरी बचत सुरक्षा गर्न सरकारले बिलम्ब गर्न नहुने बताए । संघले जेठ १७ र १८ गते, दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम गरेको थियो। संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा सम्पन्न तालिममा संघका संचालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले सहकारी संस्थामा कार्यरत कर्मचारी तथा संचालकहरुले कर तथा कोषको प्रभावकारी व्यवस्थापन गर्न सकुन भने उद्देश्यले तालिमको आयोजना गरेको बताए ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले तालिममा सिकेका कुराहरु संस्थामा प्रयोग गर्न आग्रह गरे । तालिममा सि.ए.विजय सुकुपायोले कर व्यवस्थापनबारे सहजिकरण गरेका थिए । तालिममा संस्थाका संचालक एवं कर्मचारी गरी ३६ जनाको सहभागिता रहेको थियो ।
Leave a comment