हाइलाइट

कामधेनु सहकारीका उत्पादन विदेश निर्यात हुने, काठमाडौँको बजारमा बिक्री सुरु

कामधेनु सहकारीका उत्पादन विदेश निर्यात हुने, काठमाडौँको बजारमा बिक्री सुरु :: Sahakari Akhabar

बिराटनगर । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आफ्ना उत्पादन बिक्री सुरु गरेको छ । संस्थाले नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवालगायत मिठाइका परिकारहरू उपत्यकाका सहरमा बिक्री सुरु गरेको हो ।

२४ वर्षअघि स्थापना भएको कामधेनु सहकारीले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार थालेको संस्थाका अध्यक्ष यादप ढकालले बताए । अध्यक्ष ढकालका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौँको चाहवहिलमा शीत भण्डार स्थापना गरिएको छ ।

पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामाग्रीहरु स्टोर गरी काठमाडौँ, भक्तपुर, ललितपुर सहित काभ्रेपलाञ्चोक जिल्लाका बजारमा विक्री गर्दैआएको संस्थाका बजार प्रमुख नवराज नेपालले जानकारी दिए ।

कामधेनुले यस आर्थिक वर्ष भित्रमै उपत्यकाका २० मुख्य बजारहरूमा विक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताए । उपत्यकामा समेत खुल्ला दुग्ध पदार्थहरू जथाभावी बेचबिखन हुने पाइएकाले सरकारले अनुगमन गरी त्यस्ता कार्य निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ ।

उपभोक्ताले गुणस्तरीय दुग्ध पदार्थहरूको माग अत्यधिक मात्रामा गरिरहेको अवस्थामा उपत्यकामा आइसकेपछि थप हौसला मिलेको उनले दाबी गरे । इटहरी उपमहानगरपालिका २० स्थित तरहरा प्रधान कार्यालय रहेको कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुमलगायत जिल्लाका ११ हजार कृषकहरू आबद्ध रहेका छन् ।

छुर्पी विदेश निर्यातका लागि सम्झौता

कामधेनुले आफ्ना उत्पादनहरूलाई विदेशसम्म र्पुयाउने तयारी गरिसकेको छ । बजारीकरणकै क्रममा सहकारी संस्थाले अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा दुग्धजन्य पदार्थहरू निर्यात गर्दै आएको ललितपुरको लेकाली नेपाल प्रालीसँग वार्षिक ५० हजार केजी छुर्पी विक्री गर्ने गरी सम्झौता गरेको हो ।

लेकाली नेपाल प्रालीका म्यानेजर अङ्कित मुन्द्रा र संस्थाका अध्यक्ष ढकालले वार्षिक ५० हजार केजी छुर्पी खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतिकेजी १ हजार ३ सयदेखि १ हजार ४ सयसम्म खुद्रा मूल्यमा विक्री हुँदै आएको छुर्पी विदेश निर्यात गर्ने गरी सम्झौता हुँदा समग्र कृषकहरूलाई पनि फाइदा पुग्ने संस्थाका अध्यक्ष ढकालले बताए ।

पछिल्लो समय दुग्ध विकास संस्थानले समेत कृषकहरूले उत्पादन गरेर विक्री गरेको दुग्धजन्य पदार्थहरूको उचित मूल्य नै नपाइरहेको समयमा पूर्वी नेपालमा उत्पादन भएका सामाग्रीहरू उपत्यका पुर्याएर विक्री गर्न निकै चुनौतीपूर्ण मानिन्छ, अध्यक्ष ढकालले भने ।

पछिल्लो समय कृषकले उत्पादन गरेका दुग्धजन्य पदार्थहरू बिक्री नभएर मिल्क होलिडे भइरहेको समयमा कोशी प्रदेशमा राम्रो हिस्सा ओगटेको कामधेनुले पूर्वमा उत्पादन भएका पदार्थहरू बिक्री गर्दा यहाँ देखिएको समस्याहरू समेत निराकरण हुने धनकुटाका कृषक भरत गुरुङले बताए ।



Leave a comment