बनेपा । बनेपा नगरपालिकाकी उपमेयर विमला सापकोटा सहकारीमा देखिएका समस्याको बेलैमा समाधान नगरेमा ठूलो दुर्घटना निम्तिने जोखिम रहेको बताएकी छिन् । गोर्खा विकास बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभामा बोल्दै उनले बनेपाका केही सहकारीमा पनि समस्या देखिएको भन्दै सचेत हुन आग्रह गरिन् ।
उपमेयर सापकोटाले सहकारीमा पारदर्शीता, जवाफदेहिता र जिम्मेवारी नभएसम्म सहकारीमा समस्या आउने उनले तर्क गर्दै उनले नगरपालिकामा अनिवार्य सहकारी दर्ता गर्न, घरभाडा वहाल कर, सम्पति कर तिर्न समेत आग्रह गरिन् ।
गोर्खा विकास बचत तथा ऋण सहकारीले साधारणसभाको अवसरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । साधारणसभामा उत्कृष्ट निक्षेपकर्ता सदस्य नित्यरत्न शाक्य, धर्मलाल प्रधान, सकृय शेयरधनी सुरेश श्रेष्ठ, बेन गोपाल वैदार, उत्कृष्ट महिला केन्द्र प्रमुख अनिता केसी, सविना भट्टराई र उत्कृष्ट समुह कालिदेवी महिला समुहलाई सम्मान गरिएको संस्थाले जनाएको छ । उपप्रमुख दाहालले उनीहरुलाई सम्मानपत्र प्रदान गरिन् ।
२०७९ साउन मसान्तसम्म संस्थाको ३ करोड २१ लाख रुपैयाँ शेयर पुँजी, २७ करोड २३ लाख कुल बचत, १ करोड ५ लाख जगेडा कोष, २९ करोड २६ लाख ६१ हजार कर्जा, ५ करोड ९८ लाख ९४ हजार तरलता रकम र ४१ करोड ३४ लाख ६६ हजार कुल सम्पति रहेको सहकारीका प्रबन्धक किशोर दुलालले जानकारी दिए ।
काभ्रे जिल्लाभरी र भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकासम्म विस्तार गरी सदस्यलाई लघुवित्त तथा वित्तिय सेवा प्रदान गर्दै आइरहेको कार्यालय प्रमुख मनोज आचार्यले जानकारी दिए । वित्तिय कारोबारका अलावा सहकारीले दश लाख रुपैँयाँ ऋण बिमा, सदस्य वा आफन्तको मृत्यु राहत, वित्तिय जागरण, स्वास्थ्य शिविर, दन्त शिविर, एकल महिलालाई भत्ता वितरण, सुत्केरी भत्ता वितरण, राहत वितरण लगायतका सामाजिक काम समेत गर्दै आएको उनले जानकारी दिए । पशुपालन तालिम, विउ विजन तथा कृषि अभिमुखिकरण तालिम, लघुवित्त तालिम, कुखुरा तथा बट्टाई पालन तालिम समेत सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सघंका महासचिब रविन्द्र वैदार, मानब समाज कल्याणका अध्यक्ष सुमित्रा चौलागाई (मानव), नेपाल सहकारी पत्रकार समाजका सचिब अर्जुन खतिवडा, संस्थाका अध्यक्ष अजयकुमार श्रेष्ठलगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए ।
Leave a comment